पोखरा: पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख हैरानी दिने ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–५ जिरो किमी, लेकसाइड,हल्लनचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकहरुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले हिजो (शनिबार) प्रकाउ गरेको छ । सर्वसाधरण नागरिक तथा पर्यटकहरु सवारी साधनबाट ओरल्ने स्थानबाट बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोलाहरु तान्ने पैसाको बार्गेनिङ गर्दै अनावश्यक दुःख हैरानी दिएको आरोपमा ५ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्ग बस्ने २५ वर्षीय मिनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरेचोक बस्ने शुसान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन् । प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधि भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको बताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार व्यवसाय गर्न सक्ने उनको भनाइ रहको थियो । सो अवसरमा बोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने बताउदै आफुहरुले ४५ दिन सम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन । त्यस्तै ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षहरुमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत आफुहरुले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका छन् । अवार्ड कार्यक्रम यहीं बैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । नीरज थापा (टेनिस) काठमाडौँ रङ्गशालामा रहेको टेनिस कोर्टमा विसं २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए नीरज थापा । लगातार बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरजलाई अरूले हेरेको खेल्न थाले । उनी २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आए । त्यसपछि उनी बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । एक दशक अघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले नीरजसँगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । अनि बिस्तारै बल टिप्नबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँ एक वर्षे कोचिङ टेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील भए । उनले २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १० जनाले टेनिस खेल्थे । अहिले भने १०० भन्दा बढी टेनिस खेल्ने उनी बताउँछन् । उनी बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ चेलाहरू बनाइसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस सरहका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । रमेश केसी (भलिबल) चैतमा चितवनमा भएको अन्तर प्रदेश भलिबलमा सबै प्रदेशलाई पाखा लगाउँदै गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन विभागीयलाई समेट पछारेर उपाधि जितेको धेरै उदाहरण छन् । गण्डकीलाई भलिबलमा उत्कृष्ट बनाउन भूमिका खेलिरहेका छन्, प्रशिक्षक रमेश केसी । एक दशक भन्दा बढी पश्चिमाञ्चलबाट योगदान दिएका केसी अहिले गण्डकीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । प्रदेशले साथ नदिएको बेला होस् या भलिबल सङ्घको सहयोग नगरेको बेला । जुनसुकै बेला पनि उनले व्यक्तिगत खर्च गरेर उनले टिमलाई खेल्न लगेका हुन्छन् । गण्डकीले २०८० मा १९ वटा प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्न सफल भयो । केही वर्षअघिदेखि प्रशिक्षक केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टर समेत सञ्चालन गरेका छन् । उनले प्रदेशका खेलाडीहरूलाई समेत उक्त सेन्टरमा नै प्रशिक्षण गराउँदै आएका छन् । प्रतियोगिताबाहेकको समय अरू नयाँ खेलाडीहरूसमेत प्रशिक्षण गर्ने गरेको उनको भनाइ छ । सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । उनले अहिले पनि भलिबलमा उत्तिकै योगदान दिइरहेका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान् खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् । रिजन प्रजु (क्रिकेट) खेलाडीको भूमिकामा रहँदै प्रशिक्षक बनेको रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले विगत केही समयदेखि गण्डकीको क्रिकेटलाई सम्हाल्दै आएका छन् । उनले कोचिङ गरेर सहभागिता भएको पहिलो प्रतियोगिताको उपाधि जिताएका थिए । सुदूरपश्चिममा भएको यु–१९ महिला प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ जना टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २००७ सालमा खेलेका उनी यु–१७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ सालबाट भने उनी कोचिङतिर लागेका थिए । लेभल १ को कोचिङ ट्रेनिङ लिएका उनले २०१६ पछि भने जागिर छोडेर फुल समय क्रिकेटलाई दिन थालेका हुन् । उनले अहिले आइसिसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनीसहित नेपालमा लेभल २ को टेनिङ लिएका ८ जना छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रियस्तरमा उपाधि जितेको छ । गत चैतमा भएको अन्तर प्रदेश क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको हो । हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षकसँगै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, एम.ए. कन्स्ट्रक्सन प्रा.लि, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । गण्डकी प्रदेशका नवनियुक्त उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दासले शपथ लिएका छन् । योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका सीता सुन्दास र बेदबहादुर गुरुङलाई उनले मन्त्री बनाउन लागेका हुन् । अहिले एमालेका २ जनालाई मन्त्री बनाउने निर्णय अधिकारीले गरे पनि मन्त्रालयका बारेमा केही भनिएको छैन । आजै साढे ४ बजे प्रदेश प्रमुखले उनीहरुलाई शपथ खुवाउने तय भएको छ । आज दुईमन्त्रीले शपथलिएपछि वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय हुनेछ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यसअघि क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री भइसकेका छन् ।
काठमाडौं: अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू प्रायजसो पहुँचवालाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको थियो। सोमबार लामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गर्नुभएको छ। अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ । त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो । सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
काठमाडौं: वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पु¥याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
मकवानपुर: आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ । गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको एक सय ८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अङ्गीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभयो । भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजदेखि लागू हुने उहाँले बताउनुभयो ।
जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाको ८० लाख रुपैयाँ लुटिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौना गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।