चितवन: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित विनोद सुनचाँदी पसलमा चोरी भएको घटनाबारे अनुसन्धान गर्न माग गरेको छ । गत शनिबार करिब बेलुका ८ बजे सुनचाँदी पसलमा मुखमा माक्स लगाएका व्यक्तिहरु प्रवेश गरि हात हतियार देखाई पसलमा डिस्प्ले गरेका सम्पूर्ण गरगहनाहरु उठाएर लगेकाले आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालय तथा मातहतका प्रहरी कार्यालयलाई महासंघले माग गरेको हो । औपचारिक रुपमै गृहमन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाइसकेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ । आपराधिक मनासयसहित चोरी गरेको घटनाप्रति महासंघले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । साथै महासंघले प्रहरी समक्ष यथाशिघ्र घटनामा संलग्नलाई खोजी गरी कारवाहीकाे दायरामा ल्याउन र चोरीका धनमाल फिर्ता गर्न माग गरेको छ । 'स्थानीय व्यस्त पूर्वी चितवनको खोलेसिमल बजारमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदासमेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको आज तीन दिनसम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ, विज्ञप्तीमा भनिएको छ, 'तसर्थ अनुसन्धान कार्यलाई थप प्रभावकारी रुपमा तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ ।’
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्धतले २३ रन जोडे । पर्वतका दिपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे । नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदिप अर्याल र स्विकार श्रेष्ठले समान १–१ विकेट लिए । ९४ रन पछ्याएको नवलपुरले १३।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको म्यान अफ दि म्याच समेत रहेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे । तर अर्का ओपनर गोविन्द विक भने सून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका थिए । रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दिपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए । स्याङजाका किरणले लिए ५ विकेट गोरखा विरुद्धको खेलमा स्याङजाका बलर किरण भट्टराईले ५ विकेट लिंदा स्याङजाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८।१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । अतिरिक्त १३ रन समेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । स्याङजाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै विपिन राज न्यौपानेले ३.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिए । यता जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङजाका ओपनर खेलाडी द्वय इश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट व्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन् टिमकालागि २ अंक समेत जोडे । इश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्धतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । मंगलबार पहिलो खेल पर्वत र स्याङजाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरबीच हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
धनुषा: आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राजनारायण यादवल रहेका छन् । राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तनहुँ: चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए । यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो । चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।
पोखरा: राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाई गरेका छन् । उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन कोशिष गर्न आग्रह गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिदैं हौसला स्वरुम प्रतियोगिताबाट घर फर्किने समयमा मनकामना मन्दिर दर्शनको लागि केबलकारको टिकट आफुले उपलब्ध गराउने बताए । यही असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोतिमा गण्डकी प्रदेशसहित कोशी, वाग्मती, सुदुरपश्चिम गरी ४ प्रदेश र नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागिय टिम गरी जम्मा ६ समुहकाबीच प्रतिस्पर्धा हुने छ । महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागि भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए । खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ ।
चितवन: भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको महानगरले जनाएकाे छ । यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम दिएकाे थियाे । तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताउनुभयो । अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सँयुक्त रुपमा विज्ञप्ती जारी गरेको छ । काठमाडौंको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले “सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट” को आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै तिन महासंघले उपभोक्ताहरुलाई भ्रममा नपर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवहाक अध्यक्ष अर्जुन रसाईली, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी “धमाका अफरहरु” दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।’ कानून विपरित उपभोक्तालाई भ्रम छर्ने उद्देश्यले गरिएको विज्ञापन तत्काल बन्द गर्नुपर्ने तीनै महासंघको ठहर छ । ‘मजदुरको पारिश्रमिक, निर्माण क्षति (जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएकाले साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ, विज्ञप्तीमा भनिएको छ, ‘टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ । माथिका यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।’ हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोक्नुपर्ने महासंघको बुझाई छ । महासंघले उपभोक्तालाई भ्रम छर्ने खालको विज्ञापन फिर्ता लिन र अब आइन्दा यस्तो काम नगर्न/नगराउन साथै आगामी दिनमा यस्तो कार्य नदोहोरोस् भन्नका लागि सम्बन्धित सबै व्यवसायीहरुमा विज्ञप्तीमार्फत सचेत गराएको छ । साथै हालसम्मको साथ सहयोगका लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्नसमेत अनुरोध महासंले सँयुक्त रुपमा अनुरोध गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२को बजेटमार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा वृद्धि गरि २० प्रतिशत पुर्याएकाले पुरानै दर कायम राख्न, कोटा प्रणाली खारेज गर्न र आयातमा एकाधिकारको अन्त्य गर्नुपर्ने लगायतका माग गर्दै अर्थमन्त्री वर्षमान पुनलाई यसअघि भेट गरिसकेको छ ।
पोखरा: पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया सम्पन्न गरेको छ । पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय सरकारलगायतले गर्नुपर्ने भुमिकाबारे सुझावलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा बोल्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्नो प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् त्यसैले प्रकृतिलाई जोगाउदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ । उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको सुनाए । थाइल्यान्डको पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने बताए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनले सुझाए । थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्याण्डमा पर्यटन प्राथमिकता भएजस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । उनले पोखरा घुम्नका लागि प्रवर्द्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए । गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष रविन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको बताउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवर्द्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे । थाइल्याण्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले वातावरण सरसफाइमा ध्यान दिनुपर्नेमा सुझाव दिए । उनले सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था, सरसफाइ पर्यटकका लागि अति नै आवश्यक रहेको बताए । टेवानकी अध्यक्ष कमला गिरिले पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिक मात्र नभएर आतिथ्यता र आत्मियताको शहर पनि रहेको बताइन् । पोखराको प्रबद्र्धनका लागि थाइल्याण्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न पनि अध्यक्ष गिरिले आग्रह गरिन् । टेवानकी सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटनजस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने दिइन् । टेवान टोलीले पोखराको प्रवर्द्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो । १० दिने भ्रमणमा रहेको टेवानले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखराको प्रबद्र्धन कार्यक्रम, भेटघाट गर्ने सचिव पौडेलले जनाइन् । महिला पर्यटन उद्यमी आबद्ध रहेको टेवानले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्द्धन लागि स्थानीय, प्रदेशस्तरिय गतिविधि गर्दै आएको छ ।
पोखरा: सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश बिक रहेका छन् । शनिबारदेखि बेपत्ता भएका बालकको शव कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको हो । सो विषयमा थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो । यो पनि पढ्नुहोस फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु