पोखरा: पोखरास्थित एभरेष्ट बैंकमा अज्ञात समूहले हानेको ढुङ्गाले बैंकको सिसा फुटेको छ । मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मध्यरात १ः४५ बजेको समयमा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंकमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको थियो’, डीएसपी श्रेष्ठले भने, ‘अज्ञात समूहले बैंकमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ, स्कुटरमा आएका दुई व्यक्तिले ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुमान छ ।’ बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
काठमाडौं: हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” उनले भने । धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।
धनगढी: वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी समेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यहाँको कला, साहित्य, संस्कृति र संगीतकोे क्षेत्रमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्यहरुको भने उहाँले प्रंशसा गर्नुभयो । ‘गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्नेछौ, संरक्षण गर्नेछौं, संरक्षणको अभियान निरन्तर जारी छ’ उहाँले थप्नुभयो । प्रतिष्ठानले गर्ने कार्यमा गण्डकी प्रदेश सरकारका निरन्तर साथ रहने उहाँको प्रतिवद्धता थियो । वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान अर्पण गरियो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित हुनुभयो । उहाँहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिएको हो । गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनुभयो । उहाँलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित हुनुभयो । उहाँहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरियो । सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी सहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गर्नुभएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले श्रष्टाहरु छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो । वार्षिकोत्सबको अवसर पारेर प्रतिष्ठान परिसरमा निर्माण गरिएको श्रष्टा स्मृति पार्कको उद्घाटन गरियो । पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्नुभएको थियो । कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । प्रतिष्ठान स्थापना देखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन समेत सोही कार्यक्रममा गरिएको थियो । विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए । प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपकुलपति गुरुङ र सञ्चालन सदस्य सचिव श्रेष्ठले गर्नुभएको थियो ।
गण्डकी: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बिचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी वि.सं.२०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उहाँले जानकारी दिनुभयो । विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । “ठेक्का तोड्ने तयारीमा थियौँ, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो”, उहाँले भन्नुभयो, “समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।” आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताउनुभयो । पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताउनुभयो । “हामीले पटक पटक दबाबमूलक कार्यक्रम पनि गर्यौ तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।” केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताउनुभयो । “मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पनि भने जसरी काम भएको छैन ।” यो पनि पढ्नुहोस अल्छि ठेकेदार: अझै बनेन हरिचोक-याम्दी सडकखण्ड, विरोधमा स्थानीय (भिडियाे) पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाउनुभयो । “एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बिचको बाटो किन बनेन अचम्म छ ।” ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका ५८ जना थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा ८ जना महिला र ५० पुरुष गरी ५८ जना थुुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । नेपाल औषधी व्यवसायी संघ कास्की र पद्य नर्सिङ होम अस्पताल नदीपुरको सहयोगमा कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षणसँगै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई निशुल्क सेनेटरी प्याड हन्तान्तरण गरिएको थियो । नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतमले जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आएका व्यक्तिहरुको आफ्नो स्वास्थ्य प्रति सचेत राख्ने उद्धेश्यले निशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी वितरण गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको शिकार हुने सक्ने हुँदा यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य र सुविधामा सहयोग पुग्ने बताए ।
लमजुङ: जिल्ला प्रहरी कार्यालय लमजुङले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका–७ चिसाङ्कु बस्ने ४६ वर्षीय नवराज घिमिरे रहेका छन् । उनीविरुद्ध १५ वर्षीय किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल सो घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।” समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताउनुभयो । योगध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उहाँ जानकारी गराउनुभयो । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रुपमा योगध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाउनुभयो । ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।