काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

दाङ:      जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले असार ९ गतेदेखि नै लागू हुने गरि सरकारलाई दिएको समर्थन लिएको बताइन्। पार्टीको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको काफ्लेको भनाइ छ। आजैदेखि जसपा नेपाल प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको उनले जानकारी दिइन्। जसपा नेपालबाट चार सांसद निर्वाचित भएका थिए। सांसद अहिर र आदेश अग्रवालले अशोक राईको नेतृत्वमा नयाँ बनेको जसपा रोजेका छन्। अहिर कृषिमन्त्री छन्। जसपा नेपालसँग भने दुई सांसद छन्। समर्थन फिर्ता लिएपनि सरकारलाई भने असर पर्दैन्।  

सुर्खेत:    भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो । माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए । घाइतेको उद्धार भइसकेको  उपाध्यक्ष सिंहले जानकारी दिए ।

काठमाडौं:     प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले ाजितेका छने । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।  विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए । 

लमजुङ:     शनिबार रातिदेखि परेको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए। सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ। बाटोमा यात्रीहरू अलपत्र परेका छन्। यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।  

पोखरा:     गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन्। उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै उनीहरको आक्रोसको जवाफ दिने गरेको  छु । ” कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए । सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो । पत्रकार महासंघक कास्कीका सचिव माधव वरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए । उत्कृष्ठ फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गरिने प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामुहिक वहस मुलक कार्यक्रम देखि पर्यटकीय क्षेत्रहको प्रचार प्रसार गर्न कार्यक्रमहरु संचालन गर्दे आइरहेको बताए । उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार सहित सम्मान गर्ने बताए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत संचालन गर्ने क्लबको योजना रहेको बताए । तालिममा पोखराका क्रियाशिल नयाँ तथा पुराना पत्रकाहरुको सहभागीता रहेको थियो । पत्रकारितामा  फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए ।  तालिममा सहभागीहरु मध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाइृ आगामी साता नगद १० हजार सहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठीले जानकारी दिए । 

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटन मार्फत् समृद्धिको स्पष्ट खाका आउने विश्वास छ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरुबीचको यो जमघले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा पनि उहाँले गर्नुभयो । ‘विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरुको तपोभूमि हो ।’ उहाँले भन्नुभयो – ‘मन्दिरै मन्दिरको शहर काठमाण्डौमा हिन्दुहरुको प्रमुख धाम पशुपतिनाथ देखि बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ । नेपालका हरेक स्थानमा पर्यटक लोभ्याउने गन्तव्यहरु छन् । यसको प्रचार प्रसारको आवश्यकता रहेको छ ।’ बुद्धको विचार, मार्गदर्शन एवम् बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उहाँले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्न सकिने बताउनुभयो । नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्वपूर्ण रहने बताउनुभयो । सम्मेलनमा छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान स्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । 

पोखरा:   महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।      सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुुभयो ।      उहाँका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।      मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी  लगायतको उपस्थिति थियो ।      मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन  राजधानी पोखरा सहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुुभयो ।

पोखरा:     गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो । बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो ।  त्यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दी भने, कास्कीसँग ९–० को हार व्यहोरेको थियो । कास्की र स्याङजा भने भोलि उपाधिका लागि भिड्नेछन् ।  पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल गरेको छ । बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो ।  पुरुषतर्फ समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् ।  प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने छन्् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले बताए ।  पुरुषतर्फको खेल भोलि विहान हुनेछ । पहिलो सेमीफाइनलमा कास्की र बागलुङ तथा दोस्रो सेमीफाइनल स्याङजा र तनहुँबिच हुनेछ । महिला र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजकले बताएको छ ।   

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।