पोखरा: गएरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको अविरल वर्षाकै कारण पहिरोमा परेर २ जनाको मृत्युसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोमा परेर मादी गाउँपालिका ५ चितेपानी घुम्तीका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो । पछाडी पट्टीको माटोको ढिस्को खसेर प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर पुरिएको थियो । सोही पहिरोमा परेका ७० वर्षीया लालमाया बन्जारीलाई भने सकुसल उद्धार गरिएको छ । यस्तै पोखरा महानगरपालिका वडा २७ आरूपाटाका हरि सुनारको घरमाथिबाट पहिरो आउँदा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार हरी सुनारको श्रीमती २७ वर्षीया रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । उनको अवस्था गम्भीर रहेको डिएसपी शर्माले बताए । सोही पहिरोमा परेका घरधनी हरि सुनार र ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुसल उद्धार गरिएको छ । पृथ्वीराजमार्ग भासियो PHOTO: Rishi Ram Pande अविरल वर्षाका कारण पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत पोखरा महानगरपालिका १४ आनन्दटोलस्थित घट्टे कुलोको बहाव बढेर सडक भासिएको छ । राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । सडकको दायाँ साइड करिब ७ मिटर लम्बाई र चौडाई करिब १.५ मिटर घट्टे कुलोको भत्काएपछि सवारी आवगमन अबरुद्ध भएपनि हाल एकतर्फी सवारी सुचारु भएको छ । सडक भासिएपनि कुनैपनि अन्य क्षति नभएको डिएसपी शर्माले बताए । डुबानमा ५ घर अविरल वर्षाकै कारण कास्कीमा हालसम्म ५ घर डुबानमा परेको छ । पोखरा महानगरपालिका ७ गैरीखेत स्थित कुमार सुनार र रेशम गुरुङको घरमा पानी पसेर डुबानमा परेको हो । वडा प्रहरी कार्यालय बैदामलाई प्राप्त सूचनापछि पानीलाई व्यवस्थित गर्ने र विभिन्न समाग्रीहरुको उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए । यस्तै पोखरा महानगरपालिका ३३ बागमारास्थित सिप्लिङ तारा टोलको ३ घर पनि डुबानमा परेको छ । ब्लक र टिनले बनेको राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेको छ । टोल नै डुबानमा परेर मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: गएराति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकाको आरुपाटामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–२७ आरुपाटास्थित हरी सुनारको घरमा बुधबार बिहान घर माथिबाट आएको पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले पुरिएर घाइते भएका २७ वर्षीय रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । पहिरोले सुनारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । यस्तै बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुस्मा रानाभाटको मृत्यु भएको छ । चितेपानीस्थित प्रकाश रानाभाटको घर पछाडिबाट आएको पहिरोले घरको पछाडि भाग भत्किदा कोठामा सुतिरहेकी आयुस्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घरका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ । असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ । ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् । पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् । देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ । तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ । एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
काठमाडौं: सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै रिट खारेजको फैसला गरेको हो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजातिका अधिकार संरक्षणका लागि आफू विगतदेखि नै लागिपरेको उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो । आदिवासी जनजातिको हक, अधिकारसँगै भाषा, संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जनजातिका माग पूरा गर्न पार्टीका तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो । महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ । महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरु कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन् । आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रुपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो । महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिनुभयो ।
काठमाडौं: प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक’ २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।
काठमाडौं: भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यही असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो । घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ । उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ । पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको खुलेको छ । लुटपाटमा संलग्न एक जना फरार छन् । लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । घरका सदस्यहरुलाई डरत्रास देखाउँदै दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । आज प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो । उहाँले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा उक्त मुलुकको कानुन बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।” राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पार्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिनुभयो । “राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।