काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

काठमाडौं:     सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ। बिहीबार कार्यदलको बैठक बसेको हो। बैठकले कार्यादेशको टुङ्गो लगाउने अपेक्षा गरिएको छ। यसअघि पटकपटक बसेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको थियो।  कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बैठक बोलाउनुभएको हो।  कार्यदल सदस्यमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की र जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ। 

मुगु:   बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ । घाइते चालक तथा जीप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जी प सडकबाट २५ मिटर तल खसेको थियो ।

मुगु:    मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक कर्मचारी घाइते भएका छन् ।  यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।  जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए । 

काठमाडौं:    बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो । जबरजस्ती करणी मुद्दामा उनी फरार थिए । नेपाली फरार भएर विदेश पुगेको पाएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

पोखरा:    नेपाली कांग्रेसले सर्वोच्च अदालतले मुद्दा किनारा नलगाएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ।  वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए। त्यसअघि प्रदेश सभामा बहुमत ल्याउन ३१ सांसद चाहिने अभ्यास थियो। सर्वोच्चमा दायर रिटबारे निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको हो। ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भिर असहमति रहेको छ,’ कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागी नहुने पनि प्रमुख सचेतक न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  ‘जेठ ११ गते अपराह्न ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेस संसदीय दलको निर्णय छ। अदालतको आदेश विपरीत कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने व्यहोरा अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।    

पोखरा:     पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।  सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।  साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।  बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटिएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ। 

काठमाडौं:       हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित उहाँका विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो । उहाँको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्त्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ । अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् । बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए । रासस/एएफपी

लुम्बिनी:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन÷अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।” नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । “बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।” उहाँले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताउनुभयो । “पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।” मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।” बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उहाँले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभयो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।” उहाँले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिनुभयो । नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिनुभयो ।

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गर्नुभएको छ ।   एक शुभकामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।     प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै भातृत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।’   उहाँले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै बुद्घ दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न हामी सबैले जरुरी उल्लेख गर्नुभयो ।   उभौली जस्ता मौलिक सांस्कृतिक चाडपर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गर्ने उहाँको भनाई छ ।    बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।