गोरखाः उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बेपत्ता ३७ ७० वर्षीय जीतबहादुर गुरुङको शव पनि भेटिएको छ । उनको शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो । पहिरोमा परेर बेपत्ता भएका ३३ ७० वर्षीय रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो । उनको शव घरदेखि ३० मिटर तल फेला परेको उहाँले बताउनुभयो । पहिरोमा परेर बेपत्ता भएकी ३५ ७० वर्षीया कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । आइतबार दिउँसो वेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टी गरेको हो । पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो । “जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो । “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।” युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत हुनुभयो । सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।
पोखरा: सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।” कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो । सांसद नेपालीले भन्नुभयो, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।” सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उहाँको भनाइ थियो । “कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भन्नुभयो । सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गर्नुभयो । सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराउनुभयो । सांसद खानले कास्कीको पोखरामा भएको स्कूल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।
काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उहाँहरुले माग गर्नुभएको छ । एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताउनुभएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रभा कार्कीले जानकारी दिनुभयो । आफूहरु कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उहाँले बताउनुभयो । नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रुपमा भेट गरेको हो । नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधन सहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरुभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताउनुभयो । एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रुपमा परिभाषित छन्भने विमान चालक (पाइलट) हरु ‘ककपिट क्रू’ का रुपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकहरुमा पाइलट र एयरहोस्टेसलाई ‘फ्लाइड क्रू’ का रुपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ । “निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छभने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ । सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्वपूर्ण सेवा गरेकाले हामीहरुलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रुपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ”, सुझावपत्रमा उल्लेख छ । ‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरुको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा कार्यरत रहेका छन् ।
पर्वत: गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो । बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोसाक वितरण गरिएको हो । आइतबार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो । कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । उहाँले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा गर्नुभयो । टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ । उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको छ । गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक रु तीन लाख दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो । यो सुविधासँगै टाढाका विद्यार्थीहरु आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरु पैदल हिँडेर पढ्न आउने गरेका छन् । कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ । समयमै विद्यार्थी विद्यालय आउन पाउँदा उनीहरुको पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताउनुभयो । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुँदा विद्यार्थी र अभिभावक हर्षित छन् । बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो । उक्त मेलाबाट खर्च कटाएर रु ११ लाख २५ हजार मुनाफा भएको थियो । मुनाफामध्ये रु ५० हजार स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो । मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ । मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ । बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो । सो अवधिमा भएका हवाई दुर्घटनामा परी नौ सय ३५ जनाले ज्यान गुमाएका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने सबालमा सरकार सशक्त रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गर्नुभयो । सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिसा नेपालीले विपन्न क्षेत्रका बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै असहाय, अपाङ्गता भएका, अनाथ र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रञ्जुकुमारी झाले राजनीतिक दलले एक–अर्काप्रति आरोप प्रत्यारोप नगरी मुलुकका समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रेखा यादवले देशका विभिन्न स्थानमा रहेका खोलामा पुल निर्माण गर्ने भनिए पनि निर्माणले पूर्णता पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “किसानले कहिलेसम्म मल र बीउविजन नपाउने हो, किसानले कहिलेसम्म कृषि सामग्रीको हाहाकार खेपिरहने हो, किसानका लागि आवश्यक सागग्री पनि महँगो बनाइएको छ”, उहाँले भन्नुभयो । सांसद रामप्रकाश चौधरीले देशका विभिन्न स्थानमा बढ्दै गएको आपाराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न जिल्ला भित्रमात्रै बसाइँसराइ हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । सांसद कान्तिका सेजुवाल पहिराका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडकअवरुद्ध भएको जानकारी गराउँदै निर्वाध सडक सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । सांसद जुलीकुमारी महतोेले प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहभागितामा गठित वर्तमान सरकारले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद जावेदा खातुनले वर्तमान सरकारसँग जनताले ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी र उहाँको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिनुभएको हो । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उहाँको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गर्नुभएको थियो । उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताउनुभयो । इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिनुभयो । मन्त्री डा राणाले भन्नुभयो, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।” आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उहाँले दिनुभयो । यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आउनुभएको बेला उहाँसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहनुभएका बिपीन जोशी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ ।
इलाम: इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिनुभयो । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उहाँको भनाइ छ । नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौँ उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताउनुभयो । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उहाँले बताउनुभयो । हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।
काठमाडौं: ‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए । यी र यस्ता प्रश्नको यकिन र प्रस्ट जवाफ दिन सकेमा हाम्रो जीवन नै बदलिन सक्ने दाबी मनोविज्ञानवेत्ताहरुको रहेको छ । आफूमा वा अरूमा तत्काल रहेको संवेगलाई राम्रोसँग बुझ्नु भनेको हामी कसरी सिक्ने, कसरी निर्णय गर्ने, कसरी अरूसँग व्यवहार गर्ने भन्ने विषयमा प्रस्ट हुन सरल हुन्छ भने अन्ततोगत्वा व्यक्तिगत उन्नतिका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । संवेगहरुको आफ्नै पहिचान र महत्व रहेको हुन्छ । संवेगलाई शरीरको बुद्धि पनि भनिन्छ । संवेगहरु जीवशास्त्रीय तत्व हुन् । यसलाई हाम्रो शरीर र दिमागले काम गर्ने रसायन पनि भन्ने गरिन्छ । भनिन्छ कि हामीमा आउने संवेग हामीलाई केही न केही सुनाउन उपस्थित भइरहेको हुन्छ । संवेग सिर्जना गर्ने उद्वीपकलाई हामीहरु आन्तरिक र बाह्य भनेर हेर्न सक्छौँ । आफैँभित्र सिर्जित कुनै विचार वा भौतिक अनुभूतिलाई आन्तरिक उद्वीपक भनिन्छ भने कसैसँग भएको भेट वा कुनै घटना भने द्वित्तीयक उद्वीपकमा पर्दछन् । संवेग र विचार एकले अर्कोलाई प्रभाव पार्ने हुन्छ । साथै संवेगले हाम्रो शरीरमा पनि असर पर्दछ । यसको ज्ञानबाट व्यक्तिलाई अवसर र चुनौतीका लागि तयारी हालतमा राख्दछ । शरीरमा रहेका आधारभूत क्रियाहरु जस्तैः मुटुको धड्कन, रगतको प्रवाह, पाचन क्रिया, रोगसँग लड्ने क्षमता, मांसपेसीमा रहने लचिलोपन र शरीरको तापक्रममा घटबढ हुने गर्दछ । त्यसैले भनिएको छ कि के कस्तो शारीरिक अवस्था छ भन्नेबाट पनि कस्तो संवेग पैदा भएको छ भन्ने थाहा लाग्दछ । संवेग पहिचान गर्ने र सोहीअनुसार व्यवहार गर्ने अभ्यास गर्दै जाँदा मन्दखालको अनुभूति चिनेर कडा र घातक प्रतिक्रिया पैदा नहुँदै व्यवस्थित गर्न सम्भव हुन्छ । हाम्रो शरीरको अवस्था जान्नका लागि शरीर–मस्तिष्क–हृदयको ‘स्क्यान’ गर्नुपर्ने अनि मात्र पूर्णरुपमा जानकारी पाउन सकिने भनिएको छ । भौतिकरुपमा अनुभूत भएका कुराहरु जस्तैः चिन्ता, मुस्कान, मांसपेसीको लचकता छ वा छैन भन्नेबाट शारीरिक अवस्था थाहा लाग्दछ भने कस्तो विचार आइरहेको छ ? ध्यान केन्द्रित भएको छ वा भङ्ग भइरहेको छ अवलोकन गर्ने गर्दा मस्तिष्कको अवस्था थाहा लाग्दछ भने शान्त छ वा झोँक चलेको छ वा खुसी वा चिन्तित वा उत्साहित के छ भन्ने जानकारीबाट हृदय पढ्न सकिने देखिन्छ । रोबर्ट प्लुटचकका अनुसार खुसी, आश्चर्य, रुचि, नरुचाउनु वा घृणा गर्नु, चिन्ता, डर छ आधारभूत संवेगमा पर्दछन् । त्यसैगरी, आठवटा आधारभूत संवेगमा रिस र विश्वाससमेत थपिन्छन् । समूहमा सँगै बसेर घटनाक्रम र भएको अनुभूति साटासाट गर्ने क्रममा कुन संवेगले काम गरेको भनेर अनुमान लगाउन सक्छन् र कस्तो संवेगका बखत के कस्तो व्यवहार वा क्रियाकलाप गर्नु उचित हुन्छ र के कस्तो गर्नु हुँदैन भन्ने सिकाइसमेत हुन्छ । हाम्रो दिमागमा रहने ‘हाइपोथ्यालामस’ त्यस्तो चीज हो, जसलाई संवेगको रसायन रहने कारखाना नै भन्न सकिन्छ । प्रोटिनबाट बनेका धागोजस्तो वस्तुबाट बन्ने त्यस्ता संवेगका रसायनहरु दिमाग हुँदै पिटुटरी नली हुँदै रगतमा प्रवाह हुने गर्दछन् । यसबाट पनि के बुझ्न सकिन्छ भने संवेगात्मक अनुभूतिको प्रभाव प्रत्येक जीवित कोषमा पर्न जान्छ । संवेगसम्बन्धी रसायन शरीरभरि पुग्न छ सेकेन्ड लाग्ने बताइएको छ । किन आवश्यक छ संवेग व्यवस्थापन अहिलेको मान्छेमा र अहिलेको सम्बन्धमा देखिएको बेचैनी, बेखुसी, अशान्ति र विरोधाभासको पिँधमा पुगेर हेरियो भने संवेगलाई पढ्न नसक्नु र संवेग नबुझी व्यवहार गरिनुमा पुगिन्छ । आधुनिक दुनिया जति नै नजिकका व्यक्तिहरुबीचमा पनि अनुभूतिमा आधारित संवाद कम वा दुर्लभ हुन्छ । एकै परिवारका सदस्यहरुबीच, एउटै टोलीमा काम गर्ने भनिए पनि वा एउटै सङ्गठनमा समेत एकले अर्काको संवेग बुझेर हैन कि आफ्नो संवेगलाई सबैथोक ठाने जसरी बोलिन्छ, जसबाट अरूलाई हित नगर्न सक्छ । अझ यसरी भनौँ प्रत्येक छलफलमा शान्ति वा आत्मीयता प्रवद्र्धन गर्ने वा द्वन्द्व वा हिंसा बढाउने भन्ने छनोट हामीले नै गर्ने हो अरू कसैले गरिदिँदैन । एकता प्रकाशनले सन् २०२० मा बजारमा ल्याएको ‘माई इमोसन म्याटर’ नामक पुस्तकमा संवेगको परिचय तथा आधारभूत पक्षहरुका सम्बन्धमा चर्चा गर्दै सकारात्मक व्यवस्थापनका बारेमा मार्गदर्शन गरिएको छ । संवेगलाई चिनाउने संवेगात्मक साक्षरता र संवेगात्मक बौद्धिकताबाट सन्तुलित र प्रभावकारी जीवन जिउने कलाको विकास हुन्छ । यो कौशलबाट कुनै पनि कामको नतिजाको प्रभावकारिता बढ्ने, निर्णय निर्माणमा सुधार आउने, स्वस्थकर रहने र आपसी सम्बन्ध प्रगाढ राख्न सहयोगी हुन्छ । भनिएको छ कि संवेगलाई बुझ्नेहरु अनुभूति व्यवस्थापनमा चुस्त हुन्छन् र त्यसैगरी आफ्नो काममा पनि निपूर्ण उत्रिन्छन् । उनहरु खुसीमा मात्तिने र दुःखमा आत्तिने नगरी एकखालको सन्तुलित व्यवहार प्रदर्शित गर्न सक्छन् । संवेग व्यवस्थापन कला दिनभरि गरिएका कामलाई फर्केर हेर्दा खुसीको पल र दुःखको पल कुन थियो ? गत हप्ताभरिको सुनाउनयोग्य कुनै क्षण कुन थियो ? यस्ता प्रश्नहरु व्यक्तिको संवेगसँग सम्बन्धित हुन्छन् । कुन घटना वा क्षणमा के कस्ता अनुभूति भए भन्ने तहमा व्यक्तिले जवाफ दिन सकेमा मात्र उल्लिखित प्रश्नको जवाफले अर्थ राख्दछ । यसरी मनका अनुभूतिहरु व्यक्त गर्ने अवसर पाउँदा मान्छे नजिक भएको महसुस गर्दछ । हामीमा सिर्जना हुने वा हाम्रो व्यवहारलाई प्रभावित गर्ने आधारभूत संवेगहरुको जानकारी गराएपछि माथि उल्लेख भएका प्रश्नहरुको उत्तर दिन सरल हुन्छ । अभ्यास गर्दै जाँदा सुनाएका क्षण वा संवेगहरु वा व्यक्तिले महसुस गरेका प्रतिक्रियाहरु कुन संवेगसँग सम्बन्धित छ भनेर सुनाउने व्यक्तिले नै भन्न थाल्दछन् । एउटा परिवारमा रहने व्यक्तिहरु कमसेकम साँझको १५ मिनेट सँगै बसेर दिनभरिमा के कसो भयो भनेर आ–आफ्नो अनुभूति सुनाउने संस्कारको विकास गर्नु सकियो भने कस्तो परिस्थितिमा कुन संवेग प्रभावी भएर आयो भन्ने खुल्दै जान्छ । आफू स्वयम् र अरू कुनै व्यक्तिको सम्बन्धमा पनि के कसरी व्यवहार गर्दा उसको संवेगमा अनावश्यक उतरचढाव आउँदैन भनेर बुझ्नका लागि पनि आफू वा अरू कसैलाई कुन खालको घटनाले प्रभाव पार्दछ भन्ने बुझ्नु आवश्यक हुन्छ । यसबाट नै पारिवारिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । त्यस्तै मूल्यमा आधारित शिक्षाको पाटोका रुपमा संवेगसम्बन्धी सिकाइबाट व्यक्ति, विद्यालय र अन्य सङ्गठनलाई संवेगात्मक बौद्धिकताको सहयोगबाट अन्तरवैयक्तिक सम्बन्धमा रहेका समस्या हल गर्ने विश्वास गर्न सकिन्छ । घरपरिवारको सदस्य, विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यालयका स्टाफ वा कुनै टोलीका सदस्यहरुलाई संवेगसम्बन्धी साक्षरता आवश्यक पर्दछ । सुरुमा उत्सुकता, खुसी र डरलाई बुझाउन क्रमशः कोपिला, फूल र काँडाद्वारा चिनाउन सकिँदोरहेछ । अनि एकले अर्कोलाई तिम्रो आजको फूल के हो भनेर जिज्ञासा राख्न पनि मिल्दोरहेछ । कसैले भन्ला कि आज धेरै वर्षपछि मेरो मिल्ने साथीसँग भेट भयो त्यसैले आजका लागि मेरो फूल यही भेट हो भनेर । अनि आउने हप्ता पोखरा घुम्न जाने योजना बन्नु कुनै विद्यार्थीका लागि कोपिला हुन सक्छ । संवेगलाई मसिनोसँग चिनेपछि व्यवहार गर्न पनि सरल हुँदै जानु स्वाभाविक नै हो । हामीहरु जटिलताले भरिपूर्ण समयमा बाँचिरहेका छौँ । पहिलेपहिले नभएका र शीघ्र सुधार भइरहेका सञ्चारमाध्यम तथा सामग्रीको बाढी नै लागेको छ तर पनि व्यक्तिहरु एकलकाँटे देखिन्छन्, खुसी देखिन्नन्, सम्बन्धहरु पनि टिकाउ भइरहेका छैनन् । तनावको तह बढिरहेको छ । यी कारणको परिणामस्वरुप व्यक्तिहरु अस्थिर, अधैर्य, आपसमा भिड्ने, भाग्ने, निष्क्रिय रहने क्रम बढेको छ । सारमा भन्नुपर्दा हामीले व्यक्तिगत र सामूहिक रुपमा भोग्नुपरेका समस्याको समाधान जटिल बन्दै गइरहेको छ । हाम्रो परिवेश र कार्यशैलीका कारण संवेगात्मक चुनौती बढेको हो । बालबालिका, किशोरकिशोरी पनि तनावको भुमरीमा छन् । अहिलेको जटिल जीवनशैलीयुक्त समाजमा व्यक्तिले आफ्नो र अरूको पनि संवेग बुझेर व्यवहार गर्नुपर्ने भएको छ । क्यालिफोर्नियामा कार्यालय रहेको गैरसरकारी संस्था सिक्स सेकेन्ड्स त्यस्तो संस्था हो जसले संवेगलाई व्यवहारमा प्रयोग गर्न सक्नेगरी प्रक्रिया विकास गरेको दाबी गरेको छ । संवेगात्मक बौद्धिकताको सही अभ्यासबाट विश्वमा अर्बौंको सङ्ख्यामा रहेका मानिसलाई सन्तुलित व्यवहार गर्न सक्षम बनाउँदै शान्त, समृद्ध र अझ राम्रो विश्व निर्माण गर्ने भिजन उक्त संस्थाको रहेको छ र संवेग सम्बन्धमा थुप्रै सामग्रीहरु प्रयोगकर्तालाई उपलब्ध समेत गराएको छ । ‘जोन’ नामक विद्वानका अनुसार यदि कुनै व्यक्तिले संवेगसँग स्वस्थ र खुला सम्बन्ध राख्न सक्षम भयो अनि आफूमा आएको संवेगलाई पहिचान गर्न स्वीकार गर्न र सम्मान गर्न सक्यो भने र ती संवेगलाई जागृतिको औजारका रुपमा लिन सक्यो भने मात्र त्यो क्षमताले जीवनका विभिन्न मोडमा आवश्यक पर्ने निर्णय लिने कार्य सरल भएर जन्छ । संवेगको सम्बन्धमा साक्षर हुनु भनेको संवेग के के हुन्छ भनेर बुझ्नुमात्र कदापि होइन । तत्काल आफूमा के कस्तो संवेग अनुभूति भइरहेको छ अवगत हुनु, अरू व्यक्तिको अनुहार हेरेर वा स्वर सुनेर उसको संवेग पहिचान गर्नु पनि हो । यदि अनुमान लगाउन सकिएन भने संवेग पढ्न नसकेको नै मानिन्छ । त्यस्तै, कुनै घटना वा परिस्थितिको सम्बोधन गर्ने कि प्रतिक्रिया मात्र व्यक्त गर्ने, जीवनमा कुनै लक्ष्य वा उद्देश्य लिएर त्यसैमा केन्द्रित हुनु वा निरुद्देश्य भड्किरहनु, कुनै जिज्ञासामा जवाफ दिन हतार गर्नु वा केहीबेर रोकिएर जवाफ दिनु, अरूले राखिरहेको विषय सुन्न तयार नहुनु वा ध्यान दिएर सुन्नु, आफ्नो मूल्यमान्यता बारेमा नै अनभिज्ञ हुनु वा मूल्यमान्यता पछ्याउनु, कुनै कार्यपश्चात् पृष्ठपोषण नलिनु वा पृष्ठपोषणप्रति खुला रहनु जस्ता परस्पर विपरीत व्यवहार संवेगप्रति साक्षर हुँदा वा नहुँदा देखा पर्दछन् । वास्तवमा व्यक्तिमा देखापर्ने जुनसुकै खालको संवेगको जिम्मेवारी उक्त व्यक्तिकै हुन्छ । आफ्नो संवेगका कारण भएको नतिजाका लागि जिम्मेवारी नलिने तर अरूलाई आरोप भने लगाइहाल्ने प्रवृत्ति पनि संवेगको व्यवस्थापन कला नभएकै परिणाम हो । संवेगको साक्षरता वा संवेगात्मक बौद्धिकता राम्रो भएको खण्डमा आफ्नो वा संलग्न समूहलाई पूर्णरुपमा जागृत राख्न सहयोग पुग्दछ । संवेगात्मक अनुभूतिहरुलाई बेवास्ता गर्ने अभ्यास बढ्दै गयो भने त्यस्ता अनुभूतिसँग मुकाबिला गर्ने विषय चुनौतीपूर्ण हुँदै जान्छ । संवेगका सङ्केतहरुप्रति सचेत भइयो भने एउटा वा एकभन्दा वढी संवेगले शरीर र व्यवहारमा ल्याउन सक्ने प्रतिकूल परिणामबाट बच्न सकिन्छ । शरीरमा पैदा हुने संवेगहरुमध्ये सबैभन्दा बढी प्रभावमा रहेको संवेग प्रस्ट देखिन्छ । रिसलाई सबैभन्दा सशक्त संवेग मानिएको छ । जस्तो कुनै व्यक्ति रिसाएको बखत एकान्तपन, आशावादिता, केही गर्न उत्साहित पनि हुन सक्दछ । एउटा संवेगलाई अरू सबै संवेगलाई हटाइहाल्न नसक्ने हुँदा कुनै संवेग अनुभूत भइरहेको बेला अरू कुनै अनुभूति पनि छ कि भनेर ‘स्क्यान’ गर्नुपर्ने हुन्छ । अर्कोतिर संवेगात्मक अनुभूतिहरु सङ्क्रामक हुने बताइएको छ । हामीमा आउने संवेगले हाम्रो कार्यव्यवहारलाई त असर गर्दछ नै यसले हाम्रो वरपर रहेका र हामीसँग सरोकार राख्ने व्यक्ति वा समूहलाई समेत असर गर्दछ । विवाद समाधानका क्रममा विवादका कारण तथ्य हो वा सम्बन्ध हो पहिल्याउनुपर्ने देखिन्छ । कारणको सही पहिचान भयो मात्र समाधान सरल बन्दछ । त्यस्तै, हामी उच्च शिक्षासम्म अध्ययन गर्दा पनि धेरै खालका तथ्याङ्कसँग चल्दछौँ तर संवेग वा सम्बन्धका बारेमा कमै मात्र अध्ययन हुन्छ । आपसी सहयोगका सम्बन्धमा कम र प्रतिस्पर्धामा ज्यादा जोड दिएका हुन्छौँ । फलस्वरुप हामी संवेग सम्बन्धमा कमै मात्र जानकार हुन्छौँ । सङ्गठनभित्र रहेका कर्मचारीहरुको संवेगात्मक अवस्था र कार्यसम्पादनमा त्यसको सम्बन्धको विश्लेषण गरी सोहीअनुसार व्यवहार गर्ने र परामर्श उपलब्ध गराउन सकेमा कार्यालयकै कार्यसम्पादन वृद्धि हुन्छ । यो विषयलाई मनन गरी संवेगात्मक साक्षरता र संवेगको सुव्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।)

