प्रतिनिधिसभा बैठकमा बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
काठमाडाैं | साउन १४, २०८१

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।
बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो ।
सो अवधिमा भएका हवाई दुर्घटनामा परी नौ सय ३५ जनाले ज्यान गुमाएका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने सबालमा सरकार सशक्त रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गर्नुभयो ।
सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अनिसा नेपालीले विपन्न क्षेत्रका बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै असहाय, अपाङ्गता भएका, अनाथ र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद रञ्जुकुमारी झाले राजनीतिक दलले एक–अर्काप्रति आरोप प्रत्यारोप नगरी मुलुकका समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रेखा यादवले देशका विभिन्न स्थानमा रहेका खोलामा पुल निर्माण गर्ने भनिए पनि निर्माणले पूर्णता पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“किसानले कहिलेसम्म मल र बीउविजन नपाउने हो, किसानले कहिलेसम्म कृषि सामग्रीको हाहाकार खेपिरहने हो, किसानका लागि आवश्यक सागग्री पनि महँगो बनाइएको छ”, उहाँले भन्नुभयो ।
सांसद रामप्रकाश चौधरीले देशका विभिन्न स्थानमा बढ्दै गएको आपाराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न जिल्ला भित्रमात्रै बसाइँसराइ हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
सांसद कान्तिका सेजुवाल पहिराका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडकअवरुद्ध भएको जानकारी गराउँदै निर्वाध सडक सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सांसद जुलीकुमारी महतोेले प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहभागितामा गठित वर्तमान सरकारले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद जावेदा खातुनले वर्तमान सरकारसँग जनताले ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
हुम्ला: हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सो...
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिन...
मुस्ताङ: प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्रा...