पोखरा: कास्की प्रहरीले एटिएम तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्दलेख गाउँपालिका ३ घर भई पोखरा ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् । कास्की प्रहरीका अनुसार उनले हिजो बिहान करिब साढे २ बजे पोखरा ५ जिरोकिमीमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी नगद चोरी गर्न लागेकाे प्रहरीलाई सूचना पुगेकाे थियाे । सोही सूचनाको आधारमा नेपालीलाई वडा प्रहरी वैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ । कांग्रेस–एमालेबिच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ । समसामायीक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बागलुङ: अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएको बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ । खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
काठमाडौं: उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गर्नुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो । सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।
पोखरा: साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे । गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए । ञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
काठमाडौं: प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयप्रतिनिधि सभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।
पोखरा: कास्कीका अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काँडेमा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये चालकसहित ३ जना घाइते भएका हुन् । कार दुर्घटना हुँदा पवर्तको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको कास्की प्रहरीले जनाएको छ । घाइते तीनै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।