काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

बागमती:    हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङरहेका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित फेला परेका थिए ।   यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

भद्रपुर (झापा):   स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।   हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।   जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।   पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

पोखरा:  तमु धिं नेपाल केन्द्रीय युवा समितिले तमु युवाहरुको क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण तालिम शुरु गरेको छ ।   तमु धिं नेपालको कार्यालयमा सो तालिम शनिबारसम्म चल्नेछ ।   तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बोल्ने कला एवम सफल नेतृत्वका लागि सो तालिम महत्वपूर्ण हुने धारणा राखे ।   उनले क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सघाउने बताउदै आगामी दिननमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तालिममा सहभागि युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।   तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षण दिइन् । यस्तै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।   कुल ३५ जना युवाहरुको सहभागिता रहेको तालिममा युवा समितिका अध्यक्ष रमेश गुरुङको सभापतित्वता भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए ।

सिरहा:     लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

काठमाडौं:     प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।  संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।      यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।      यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।      पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।    यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।      नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो ।  त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो ।  कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र समृद्धका तुलनामा मगन्ते उसका मन पर्ने मानिस हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निहुँमा उसले मारिदिने गर्दथ्यो ।       रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख भएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाडौँ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ ।

काठमाडौं:      नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैकठले  प्रदेश इन्चार्ज हेरफेर गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले प्रदेश इन्चार्ज हेरफेर गरेको  महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।  महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ ।       यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।       एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।       यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।       सत्रजना केन्द्रीय सदस्यमा मनोनीत      महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो ।  उहाँका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।  यस्तै,  केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ ।  सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ ।  सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाई गरिनेछ ।  साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ ।  खेलकुद उपसमितिमा संयोजकमा फोनिज गण्डकी सचिव अर्जुन गाहा ‘सुशान्त’ संयोजक र सदस्य प्रविन मगरलाई सहसंयोजक तोकिएको छ । खेलकुद उपसमितिमा कृष्ण आले, मणिलाल गुरुङ, सुरज थापा, सुमन थापामगर, गिता राना र दिलप्रसाद गुरुङ सदस्य छन् । सोही दिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुनेछ ।   रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महासचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ ।  उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कारसहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए ।   

पोखरा:    पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको हो ।  हिज्जे प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्राहरुद्वय ममता गुरुङ , प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भएका छन् ।  प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।