काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

पोखरा:    पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ ।  महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले  प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए ।  प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिबल क्लबलाई सहभागिताको लागि आमन्त्रण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।  लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेको छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।   

नवलपुरासी:     बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ ।  बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ । “गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उहाँले भन्नुभयो ।  हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् । राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताउनुभयो । “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”, उहाँले भन्नुभयो, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।”     पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् ।  स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् ।”  पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ ।  पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । “पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो”, उहाँले भन्नुभयो, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।” हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन । राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताउनुभयो । 

पोखरा:    नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् ।       संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् ।      संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नुु दुःखदायी अवस्था भएको भनिएको छ ।          प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको बनेको उल्लेख गर्दै संघले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको भनिएको छ ।      पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानुु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको जनाइएको छ ।      एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुुपर्ने अवस्थामा सहजीकरण गर्नुुपर्ने, वातावरणीय प्रभावका नाममा व्यवसायीले पाइरहेको दुुःख स्मरणपत्रमा उल्लेख गरिएको छ ।      पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुुपर्ने भन्दै संघले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुुपर्ने सुुझाएको छ ।      त्यस्तै पर्यटकसँग लिइने प्रवेश शुल्क एक द्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुुपर्ने, व्यवसायी पलायन रोक्नुुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंङ्ग र ¥याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने लगायतका विषय उल्लेख गरिउको छ ।      विदेशी मुद्रा कारोवारमा डिजिटल भुक्तानी प्रक्रृया सहज बनाउनुुपर्ने लगायतका विषयमा सुुझाइएको छ ।      नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा) का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आँफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताउनुुभयो । उक्त अवसरमा रेष्टुुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउनुुभएको थियो ।      नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभागका संयोजक आङ्गेलुु शेर्पा र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय संयोजक दीपक महतले मन्त्री पाण्डेसँगको भेटघाटलाई संयोजन गर्नुुभएको थियो ।        

काठमाडौं:    गएरातिदेखिको लगातारको वर्षाले  मुलुकको हवाई उडान प्रभावित भएको छ ।  निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।      विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् ।  आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको  विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित  सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् ।      जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।   विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं:    संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुनुहुन्छ ।  नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।  स्वर्गीय  अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ । 

काठमाडौं:    देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।      गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७,  झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।      त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

काठमाडौं:   सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ । 

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ ।  भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।   उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।      बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् ।   विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो । 

काठमाडौं:    हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।       विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  मुसलधारे वर्षाको सम्भावना छ ।      आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।  साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको  क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।