काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् । वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ । रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अुनरोध गरेको छ ।
काठमाडौं: सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं: जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने छ ।” यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताउनुभयो ।
बागलुङ: उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ । एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले ुगाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनीु दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो । “गाउँ तथा जङ्गलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पु¥याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ,” छन्त्यालले भन्नुभयो, “अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न रु सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।” एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुईलाखको बिक्री भएको छन्त्यालले जानकारी दिनुभयो । अहिलेआलु चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पु¥याउने छन्त्यालको भनाइ छ । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो । जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । विसं २०७१ मा रु १० लाख शेयरपूँजीबाट शुरु भएको सहकारीको अहिले वार्षिक कारोबार रु दुई करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् । महिला सदस्यलाईमात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो । अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नगरपालिकाले महिला उद्यमशिलताका लागि हालसम्म रु १० लाखभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उहाँले जानकारी दिनुभयो । “किसानले आलु मात्रै विक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ”, उपप्रमुख शर्माले भन्नुभयो “औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पु(याउन सकिने सम्भावना ।”
धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । “घाइते सबै खतरामुक्त रहेका छन्”, प्रहरी नायव उपरीक्षक मिश्रले भन्नुभयो । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।” पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताउनुभयो । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । “साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।” यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल ९बर्दघाट सुस्तापश्चिम०मा उपचार जानकारी दिनुभयो ।
कास्की: कास्कीमा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
पोखरा: नवनिर्वाचित पोखरा चेम्बर अफ कमर्स कास्की र फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ । फिस्टेल ड्रिमपार्कले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धि सम्झौता गरेको हो । सो सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे । सम्झौता अनुसार चेम्बरका सदस्यले उक्त पार्कमा २५ प्रतिशत छुट पाउनेछन् । पोखरा १७ मा रहेको फन पार्क पछिल्लो समय लोकिप्रिय बन्दै गएको छ ।

