पोखरा: गत बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–१९ तल्लाकोटका कुलबहादुर परियारको परिवारलाई राहत वितरण गरिएको छ । परियारको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोष र गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेले नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको जानकारी दिए । असार २७ गते बेलुका पोखरा–१९ तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको थियो । सोही पहिरोमा पुरिएर मृत्यु भएका स्याङ्जा स्थायी घर भएका मृतक कुलबहादुरको विवाहित छोरी प्रभा परियार ज्वाइँ अस्मित परिवारलाई आवश्यक कागजात सहित नजिकको नजिकको हकदार सम्पर्कमा आए पश्चात राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले विपद् घटनामा परी मृत्यु भएका परियारका नाबालक छोरा बाहेकको अन्य सबै परिवारका सदस्यहरुको निधन भएकाले प्रदान गरिएको रमक दुरुपयोग हुन नदिन बैंकमा खाता खोली राखिदिने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । पहिरोले परियारको घर पूर्ण रुपमा क्षति भएकाले आवास पुननिर्माणको प्रक्रिया सम्बन्धित स्थानीय तहले तत्काल सुरुवात गर्न समेत प्रजिअ अधिकारीले निर्देशन दिए । यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गरेको छ । नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट थापाको परिवारलाई प्रशासनले २ लाख रुपैयाँ राहत प्रदान गरेको हो ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्थापित गरेर ओली प्रधानमन्त्री बनेका हुन् ।
सिन्धुपाल्चोक: याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ । मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।
एजेन्सी: कोपा अमेरिका २०२४ मा अर्जेन्टिना च्याम्पियन बनेको छ । कोलम्बियालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यससँगै अर्जेन्टिनाले १६ औं पटक उपाधि जित्यो । यसअघि अर्जेन्टिनाले २०२१ मा पनि उपाधि जितेको थियो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा निर्णायक गोल गरे । उनले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्तासमेत बने । अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधिसमेत जितेको थियो ।
चितवन: मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिंदैहुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि शपथ समारोह तय भएको हो । गत शुक्रबार असार २८ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आउनुभएको हो । संसद् विघटन र सर्वोच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसक्नुभएको छ । विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिनुहुन्छ । उहाँको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ । नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँले दोस्रोपटक सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष हुनुभएको थियो । पार्टीभित्रको विवादका कारण उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो । किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्नुहुन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्कनुभएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गर्नुभएको थियो । तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गर्नुभयो । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित गर्यो । अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ । उहाँले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुनुहुन्छ । करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताउनुभएका अध्यक्ष ओली २०७८ मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल हुनुभयो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, उहाँहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ । मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उहाँ गिरफ्तारीमा पर्नुभयो । विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनुभएको थियो । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो । निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो । अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापकको हैसियतमा हुनुभयो । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा ९माले०को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो । नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बन्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा ९माले० र नेकपा ९माक्र्सवादी०बीच पार्टी एकीकरण भएर नेकपा ९एमाले० बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनुभयो । संसदीय यात्रा र एमालेको नेतृत्व बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उहाँ पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख हुनुभयो । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री हुनुभयो । उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभयो । जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उहाँको प्रभाव थप विस्तारित भयो । सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गर्यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो । दुईपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ ।
काठमाडौं: स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २–१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै ओली चाैंथाेपटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।