काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
चितवन: बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उहाँले दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उहाँले केही अगाडि अभिनय गर्नुभएको थियो । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्...”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वराङ्कन गर्नुभएको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिनुभयो । चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गर्नुभएकोप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ”, निर्देशक ढुङ्गानाले भन्नुभयो । चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गर्नुभएको छ । शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक मानव कंंकाल फेला परेको छ । मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालोको घारी नजिक मानव कंकाल भेटिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । ‘मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालो घारी नजिक मावन लासको अवशेष फेला परेको भन्दै स्थानीय भेडिगोठका सञ्चालक गोविन्द गौतमले फोन गर्नुभएको थियो, गौतमको भनाई उद्धत गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘मावन लासको अवशेष फेला परेको सूचना आएपछि कास्की प्रहरी र गाउँपालिकालाई खवर गरेको छु छिटै नै अवशेष फेला परेको स्थानमा समन्वय गरेर जान्छौं ।’ वडाध्यक्ष क्षेत्रीले वेस क्याम्प पुग्न २ दिन लाग्ने र मौसममा आएको परिवर्तनका कारण चुनौती भएकाले सुरक्षा निकाय र गाउँपालिकासँग समन्वय गरेर बेस क्याम्प तर्फ लाग्ने बताए । ‘मर्दी हिमालको वेस क्याम्प पुग्न यहँ करिव २ दिन लाग्छ, मौसमका कारण सबैसँग समन्वय गरेर जानुपर्छ, कास्की प्रहरीलाई खवर गरेको छु’, उनले भने, ‘मानव लासको अवशेष भेटिएको स्थान मर्दि हिमाल वेस क्याम्पको मुख्य बाटो भन्दा १२ सय मिटर पूर्व मर्दी खोलाका उद्गम स्थल माथि पर्ने लाम डाडाको खोँचमा हो ।’ उनले मर्दी हिमाल वेस क्याम्प नजिक भेटिएको मानव लासको अवशेष २०८० पुस १४ गते देखि हराएका विदेशी नागरिक स्विडेनका मिचेल लुई ब्लम्बर्ज हुन सक्ने अनुमान गरे । गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा स्विडेनका नागरिक बेपत्ता छन् । एक्लै पदयात्रामा रहेका स्विडेनका नागरिकलाई भालुले आक्रमण गरेको हुन सक्ने वडाध्यक्ष क्षेत्री आशंका गरे । मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएको विदेशी नागरिक मिचेलको खोजी कार्य भएपनि उनको अवस्था अहिले सम्म अज्ञात छ । मर्दी हिमालको वेस क्याम्प नजिक खुट्टाको हाड कपडा र मोबाइल मात्र भेडा गोठालाले हिजो मात्र फेला पारेको वडाध्यक्ष क्षेत्रीले बताए ।
काठमाडौँ: सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राससलाई भन्नुभयो, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।” च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकारपछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब रु एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ ८ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका अध्यक्ष जनक गाहामगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए । सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने अध्यक्ष गाहामगरले बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, अध्यक्ष गाहामगरले भने । यस्तै क्लबका सदस्य विरबल रानामगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुनसार विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लब २०३८ सालदेखि नै खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको छ । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (थप १ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८१७५२८६७८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ । गत वर्ष कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामाा आयोजक नव जागृती युवा क्लब (कालो) लाई पराजित गर्दै सराई एफसी च्याम्पियन बनेको थियो ।
नवलपरासी: नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । “धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उहाँले भन्नुभयो । घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं: काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो ।
काठमाडौं: मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

