बर्दिया: कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताउनुभयो । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उहाँको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता हुनुभएको थियो । गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
लेखनाथ: सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर हुनुहुन्छ । “छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भन्नुभयो, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौं, अब छोरीबाहेक मेरो कोही रहेन ।” सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९ परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् । “पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, शेर्पाले भन्नुभयो, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भन्नुभयो, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ? ।” प्रेमसँग प्रेम विवाह गर्नुभएकी निग्माले भन्नुभयो, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुप¥यो ।” धादिङबाट पोखरा आएर बस्नुभएकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आउनुभएको छ । “बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, शेर्पाले भन्नुभयो । जग्गा पाइहाले पनि घर बनाउन सक्ने उहाँको अवस्था छैन । शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ । “पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए । तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनुभएको छैन, सधैं सङ्घसंस्थाको सहयोग पाइँदैन”, मगरले भन्नुभयो, “बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौँ ।” बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आउनुभएको छ । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बस्नुभएको छ । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए ।
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालकको उद्धार यसैबीच दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–१ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्र्तगत नेपाली तथा अंग्रेजी हिज्जे र बेलुन रेस प्रतियोगिता सम्पन्न भएको छ । नेपाली हिज्जे कार्यक्रममा आधारभुत (सिनियर) तर्फ कञ्चनजंघा सदनबाट कक्षा ८ की छात्रा सृष्टि खड्का, कक्षा ७ का छात्रछात्राद्वय असिम अधिकारी र उपासना रेग्मी, कक्षा ६ की छात्रा सबिता सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा ८ का छात्राहरुद्वय मञ्जिसा भुजेल र एस्थर तामाङ, कक्षा ७ की छात्रा अंकिता पौडेल र कक्षा ६ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फको अंग्रेजी हिज्जे प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा ५ का छात्रछात्राद्वय सिद्धान्त के.सी. र केन्जल जि.सी., कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा ३ की छात्रा शइशा तामाङ प्रथम र कञ्चनजंघा सदनबाट कक्षा ५ का छात्रछात्राद्वय मुस्कान भण्डारी र अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल र कक्षा ३ का छात्र सौगात हमाल द्वितीय भएका छन् । यस्तै पूर्व प्रा.वि. तहमा भएको बेलुन रेस प्रतियोगितामा कक्षा नर्सरीबाट अनामिका सापकोटा प्रथम, इमान थापा क्षेत्री द्वितीय, उमङ्ग रेग्मी र प्रियांश अधिकारी तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट कृष्ण मेट्या प्रथम, निरोशा पाइजा द्वितीय र सम्राट सुनार तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट सलोम राई प्रथम, शिवांश बाबर द्वितीय र एन्जल रानामगर तृतीय भएका छन् । कक्षा एकबाट पारोमिता मण्डल प्रथम, जेम्स बर्मान द्वितीय र एडन गुरुङ तृतीय भएका छन् । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी विकास हुने बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो । केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ । पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो । आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।
इलाम: इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनुभयो । मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिनुभयो । मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

