घरबासको आकर्षण: तीस थरिका परिकार

बाग्लुङ | भदौ २६, २०८१

घरबासको आकर्षण: तीस थरिका परिकार

बागलुङ:    घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् ।

 

यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय उत्पादनलाई स्वादिष्ट परिकार बनाउँदै पाहुनाको मन जित्ने गरी तयार भएका छन् ।

 

यहाँको काठेखोला गाउँपालिकाका चार घरबासका सञ्चालक खानाका स्वादिष्ट ३० थरी परिकार बनाउन पोख्त भइसकेका छन् । यसका लागि उनीहरूले तालिम नै लिएका छन् ।

 

पाक कलामा पोख्त मनिषा श्रेष्ठले यहाँ चार घरबासमा आएका पाहुनालाई स्वादिष्ट खानाका थरी–थरी परिकार बनाउन सिकाउनुभएको थियो ।

 

सञ्चालकले श्रेष्ठले चियादेखि जुससम्म र ढिडोदेखि मासुका परिकार बनाउन सिकाउनुभएको छ । “१२ दिनभित्र चार घरबासका ८० सञ्चालकलाई ३० थरीका परिकार बनाउन सिकाइयो । अब पाहुनाको रोजाइ अनुसारको खाना बनाउन सकेमा घरबास दिगो चल्ने छ”, श्रेष्ठले भन्नुभयो ।

 

यहाँ भदौ पहिलो साता प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको बौर सामुदायिक घरबास, काठेखोला गाउँपालिका–३ धम्जास्थित देउराली सामुदायिक घरबास र काठेखोला गाउँपालिका–८ लेखानीको खानीगाउँ सामुदायिक घरबासका २०÷२० जान सञ्चालकलाई घरबासमै पुगेर घरबास व्यवस्थापन तथा खानाका परिकार बनाउने तालिम दिइएको थियो ।


प्रशिक्षणसँगै प्रशिक्षार्थीहरूले खानाका परिकार बनाउन थालिसक्नुभएको छ । “एक दर्जन खानाका परिकार त हामीले परम्पराकालदेखि नै बनाउँदै आएका थियौँ । तालिमपछि त्यही परिकारलाई नयाँ स्वादमा पस्कन सिकेका छौँ”, धम्जा देउराली सामुदायिक घरबासका सञ्चालक अनिशा थापाले भन्नुभयो ।

 

उहाँले स्थानीय स्तरमै पाइने आलु, सिस्नो देखि कोदो परिकार बनाउने नयाँ तरिका सिक्दा घरबासका पाहुँनालाई नयाँ स्वाद चखाउन उत्साहित भएको बताउनुभयो ।

 

घरबास सञ्चालकको क्षमता बढाउनका लागि पहिलो चरणमा काठेखोला गाउँपालिकाका चार घरबासलाई खानाका परिकार बनाउन र आतिथ्यतासम्बन्धी तालिम दिइएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनका सचिव उमेश गौतमले जानकारी दिनुभयो । 

 

उहाँले घरबासलाई चलायमान बनाउन सञ्चालक आतिथ्यता र परिकार बनाउन अब्बल हुन आवश्यक रहेको बताउनुभयो । 

 

घरबासमा आतिथ्यतासम्बन्धी तामिल दिँदै आउनुभएका सुरज बाँस्तोलाले घरबासको दिगोपनाका लागि सञ्चालक सक्षम रहन आवश्यकता रहेको बताउनुभयो । 

 

उहाँले समुदायको आर्थिक उपार्जनसँगै पर्यटनको विकासमा घरबास महत्वपूर्ण सावित हुँदै गएको घरबास महासंघ नेपालका कोषाध्यक्ष बाँस्तोलाको भनाइ छ । 

 

घरबासमा चाख्न पाइन्छ ३० थरीका परिकार

 

“लहडमा आएर खुलेका घरबास चल्दैनन्, अबका घरबास प्राकृतिक सुन्दरता, सरसफाइ तथा स्वादिष्ट खानाका परिकार चखाउन सक्ने हुन आवश्यक छन्, मकैको खिरदेखि आलुका परिकार, चियाको स्वाददेखि मासुका परिकार पस्कन आवश्यक छ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “घरबासमा पुगेका पाहुना पैसा खर्च गर्न पुगेका हुन्छन् भन्ने हुँदैन पाहुनाको रोजाइँअनुसार खानाका परिकार पस्कन सके पैसा कमाउन समस्या छैन, कम्तीमा घरबास सञ्चाकले ३० थरीका परिकार बनाउन सिपालु हुन पर्दछ ।”

 

तालिमका क्रममा सैद्धान्तिकसँगै खानाका परिकार नै बनाएर देखाइने र सञ्चालकलाई खानाका पारिकार बनाउन सिकाइने भएकाले तालिमले घरबास सञ्चालकलाई उत्साहित बनाएको उहाँको भनाइ छ ।

 

यही तालिको सिकाइबाट यहाँका घरबास सञ्चालकहरूले हाल तिब्बतियन रोटी, थेन्दुक, मुलाको पकौडा, आलुको अचार, दूध चिया, फापरको केके, जिरा आलु, मेथी आलु, आलुको पकौडा, टिम्मुरे आलु, सागको पकौडा, चिउराको पुलाउ, जाम, केराको चिप्स, अण्डा, अण्डाको अम्लेट, फर्सीको हलुवा, कोदोको सुप, झानेको सागको परिकार बनाउन थालिका सकेका छन् । 

 

यस्तै मकैको बिस्कुट, मकैको खिर, सिस्नोको सुप, हाँसको छोयला, पुलाउ, जिरा भात, जागर भात, जोगी भात, झोल तरकारी, चिकेन, मिक्स अचार, चिकेन फ्राइ, कक्टेल जुस, सर्वत र लस्सी बनाउन पनि उनीहरू तयार भएका छन् । 
 

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्