उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

काठमाडाैं | भदौ २८, २०८१

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

भोजपुर:     भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । 


सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।


विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । 


कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ । 


नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । 


विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । 


“घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो । 


टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । 


रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।


विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । 


जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ ।


भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो । 

नवलपरासी:     पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ ।  डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक ...

थप पढ्नुहोस्

ढोरपाटन:   चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थ...

थप पढ्नुहोस्

सुनसरी:   सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय य...

थप पढ्नुहोस्