चितवन: कुरिनटारमा माइक्रोबसले ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिप्पर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।
पोखरा: जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ । होटल टास्क ईन्टरनेशनल प्रालिको आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको हो । बियर पारखीहरुलाई लक्षित गरी बियर पिउने प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगितामार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले बताए । उक्त कार्यक्रम अन्तर्गत जेठ ११ देखि १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुनेछ । इभेन्टमा सहभागी हुनका लागि पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागिता जनाउन सक्नेछन् । १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो व्यक्ति उक्त इभेन्टको विजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन् । ११ देखि १४ गते सम्मका लागि हरेक दिनको इभेन्टमा विजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षका लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुनका लागि १५ सय शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि होटल टास्क इन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफी हाउस, लेकाली सिटी भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ । लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपीमा बियरहरु उपलब्ध हुदै आएको छ भने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन् । दोश्रो वर्ष प्रवेशसँगै ड्राफ्ट बियर बारसमेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ ।
पोखरा: पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले पर्यटक तथा स्थानीयहरुलाई अनावश्यक रुपमा दुःख हैरानी दिएको आरोपमा आज ७ जनालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–९ स्थित लखनचोक (पृथ्वीचोक) बसपार्क एरियामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुल होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने तथा लागूऔषध पदार्थ सेवन गरी होेहल्ला गरी स्थानीयहरुलाई समेत दुःख हैरानी दिएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ । नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरामा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो । पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन सलोमी गुरुङ जिताउ अभियानले पोखरामा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै भोटको अपिलसमेत गरेको छ । नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठमा अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताईन् । ‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो’ प्रतिनिधि गुरुङले भनिन्, ‘अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं ।’ सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेकोसमेत उल्लेख गरिन् । गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सलोमीको रहेकोे उनको भनाइ थियो । सलोमी जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । सलोमी जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो । नेपाल आइडलको उत्कृष्ट आठमा पोखराबाट सलोमी गुरुङ र मानव परियार छन् । नेपाल आइडलको उत्कृष्ट आठमा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ । सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
काभ्रे: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पञ्चवर्षिय परिलक्ष्य सहित एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल नाराका साथ गत शनिबार धुलिखेलमा कार्ययोजना गोष्ठी सम्पन्न गरेको हो । महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा बसेको गोष्ठीमा महासंघका कार्यसमितिहरु, आवद्ध सदस्य संघका अध्यक्ष तथा प्रतिनिधि, विषयगत समितिका संयोजक र सदस्य गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो । गोष्ठीलाई सम्बोधन गर्दैै महासंघका अध्यक्ष सुनारले आगामी दिनहरुमा महासंघको कार्यविधि बनाउन, निर्देशिका बनाउन उपयोगी सिद्ध हुनुका साथै तोकिएको समयमा निर्धारित काम गर्न सो गोष्ठीले मद्दत पुग्ने बताउनुभयो । व्यावसायिक एकतालाई थप सुदृढ बनाउन र मौलिक शीप कलाको सम्वद्र्धन, व्यवसायको प्रवद्र्धन, स्वदेशी रत्न, पत्थरको प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन लगायत विषयलाई प्रथामिकतामा राखेर गोष्ठीमा वृहत छलफल भएको थियो । राजश्व तथा रोजगारी अभिवृद्धि साथै व्यवसाय मैत्री वातावरणको सिर्जना लगायतको मूलभूत उद्देश्य साथ अघि बढिरहेको यस महासंघले पहिले देखि उठाउँदै आएका तर निकास पाउन नसकेको नीतिगत कार्यहरु, आपूर्तिका विषय पनि प्राथमिकताका साथ गोष्ठीमा छलफल भएको थियो । महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गतको पहिलो वर्षमा सम्वद्ध संस्था, नियमकारी निकाय गोलमेच बैैठक बसेर नीतिगत कार्यहरु सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, प्राथमिकतामा परेका अन्य विषय महासंघको आन्तरिक सुन वितरण सिफारिस समय सापेक्षताको अनुसार वितरण गर्ने, उपत्यका वाहिरका जिल्लाको सुन बितरण अधिकारलाई संघकै सिफारिसमा गर्ने व्यवस्था गर्ने लगायत छन् । मौलिक गरगहना मेड इन नेपाल प्रवद्र्धनका लागि स्वदेशी अभियान संचालन गर्ने विषयले पनि महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गत पहिलो वर्षमा प्राथमिकता पाएको छ । महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गतको दोस्रो वर्षमा महासंघमा आवद्ध नभएका प्रत्येक जिल्लामा पहुँच बिस्तार गर्ने, संगठन बिस्तार सातै प्रदेशमा गर्ने, संघका शाखा महासंघमा आवद्धता गर्ने, आभुषण क्षेत्र सँग सम्वन्धीत ऐन कानुन, निर्देशिका, नियामवली जारी गराउने लगायतका विषय प्राथमिकतामा परेको छ । साथै, प्राकृतिक प्रकोप कोषको स्थापना गर्ने विषय समेत महासंघले दोस्रो वर्षको परिलक्ष्यमा प्राथमिकताका साथ समावेश गरेको छ । कार्यक्रममा महासंघका सल्लाहकार एवम् कार्ययोजनाका सहजकर्ता बद्रीप्रसाद कोइराला, महासंघका सल्लाहकार तथा जेम्स एण्ड ज्वेलरी काउन्सिलका सदस्य रामप्रसाद लकान्द्रीको पनि सहभागिता थियो । महासंघका प्रथम उपाध्यक्ष, व्यवसायिक सहायता केन्द्र र व्यापार मेलाका संयोजक द्वारिका शंकर, महासंघका उपाध्यक्ष, सुन आपूर्ती तथा बिक्रि वितरण व्यवस्थापन समितिका संयोजक सुधिर अग्रवाल, घरजग्गा व्यवस्थापन समिति महासंघका सचिव केशब विश्वकर्मा, गुणस्तर परिक्षण विभाग तथा प्रतिवेदन सिफारिस समितिका संयोजक तथा महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, सुचना तथा प्रविधि समितिका संयोजक तथा बागमती प्रदेशका अध्यक्ष हेम राईलगायतले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सबै विषयगत समितिहरुले दिएका सुझावहरुबारे छलफल गरिएको थियो ।
सुर्खेत: दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार मृतकको पहिचान हुन सकेको छैन। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस सोमबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको उनले जानकारी दिए। दुर्घटनामा १९ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइते १७ जनाको कर्णाली केयर हस्पिटल र २ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख खड्काले बताए।
सङ्खुवासभा: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिईन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाइले बताईन् । सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए । यो पनि पढ्नुहोस दमौलीको मुख्यचोकमा भिषण आगलागी, २० वटा सटर जलेर नष्ट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको बताए । उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ । एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उहाँले बताए । क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण यसैबीच पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागीपीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै उहाँले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन लागेको सन्दर्भका कारण यस दुःखको समयमा पीडितसँग भेटगरी स्थलगतरुपमा घटनाको वास्तविक जानकारी लिनसक्ने अवस्था नभएका भन्दै सांसद श्रेष्ठले प्रत्यक्षरुपमा उपस्थित हुन नसके पनि क्षतिपूर्तिका लागि सरकारको निरन्तर ध्यानाकर्षण गराउने बताए । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आगलागीबाट भएको क्षतिको विवरणका आधारमा आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे । उनले मुचुल्का उठाइ सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत आग्रह गरे ।
पोखरा: ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ आगामी जेठ २१ गते सोमवार हुनेछ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिइएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताए । विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङको भनाई छ । समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आईरहेको छ । २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन बीचका दुई संस्करण कोभिड(१९ का कारण हुन नसकेको थिएन, गत बर्षदेखि यसलाई निरन्तरता दिएएको अध्यक्ष गुरूङले बताए । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरूङले बताए । अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाट, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए । महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १ लाख५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्कारको ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ । म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाज काठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेको म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)रराष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू–पार्क व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपू खेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महासंघ, सिआइडब्लुईसी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् । महोत्सव सम्पन्न गर्न ४२ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमितिसहित सल्लाहकार समिति गठन गरिएको समितिका महासचिव दिलिप गुरुङले बताए ।