काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा ९एमाले० मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो । कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।” मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ रु भन्ने राससको जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पार्नुभयो । राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।” “विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो”, उहाँले स्मरण गर्नुभयो । अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिनुभयो । उहाँले भन्नुभयो, “एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।” संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।” एकप्रश्नमा उहाँले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिनुभयो । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो, “जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र रु देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।” अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गर्नुभयो । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– “लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।”
काठमाडौं: प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।
पोखरा: पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्कुटर लन्च गरे । आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताइएको छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ । स्कुटरको विशेषताबारे जानकारी दिँदै कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले लामो तथा छोटो दुरीमा चलाउन सकिने र चढ्नमा सुविधाजनक रहेको बताए । उनका अनुसार ड्राइभिङमा यो ६० प्रतिकिमी र स्पोर्टस् मोडमा यो ६८ प्रतिकिमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उनले सुनाए । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उनले दाबी गरे । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्नेछ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका डाइरेक्टर रेविका बुढाथोकीले हाल कम्पनीको पोखरासहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छन् । काठमाडौंमा साउलफुल मोटर महाराजगञ्ज, इको एक्जिम नेपाल टेकु, बागमती मोटरसाइकल सेन्टर, बागलुङ जिल्लामा सावित्री अटो मोबाइल, दाङमा जेबिएस अटोमोबाइल्स् र कैलालीको धनगढीमा असीयुन ट्रेड प्रालि हुन् । पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुम हो ।
काठमाडौं: नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो। तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ। सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ। ‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’ सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन्।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ । बैठकमा महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् । ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् । बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए । बैठका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ ।
पोखरा: पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ सो सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् । दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताए । उनले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने उक्त कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोगी हुने बताए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् । भने सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. सुर्यबहादुर जि.सी रहनेछन् । त्यसैगरी सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय, व्यवस्थापन सङ्काय थाइल्याडका डिन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवम् पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी रहनेछन् । कार्यक्रममा स्वदेशी तथा विदेसी विश्वविद्यालयबाट ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुति रहने र उक्त लेखहरू माथि छलफल हुने कार्यक्रम संयोजक मोहन भण्डारीले जानकारी दिए ।
कास्की: पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् । पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् । उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ ।
स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्षीय शिवम परियार रहेका छन् । उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए । उनको उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको हो । साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।