‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’
काठमाडाैं | भदौ २०, २०८१

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गर्नुभयो । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उहाँको भनाइ छ ।
मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठूलो सुधारको खाँचो रहेको बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा रुद्र शर्माले क्याम्पसले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क अध्यापन गराउँदै आएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले नारी शिक्षाको क्षेत्रमा चार दशकदेखि निरन्तर रुपमा लागेको डिल्लीबजार कन्या क्याम्पसमा हाल आठ सयभन्दा बढी छात्रा अध्ययनरत रहेका जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ट प्राज्ञिक सम्मानबाट समाजशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएका सोही क्याम्पसका प्राध्यापक डा हरिहर घिमिरे र डा आनन्द पन्तलाई सम्मान गरिएको थियो । साथै क्याम्पसले उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...