पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्  ।  फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रह...

काठमाडौं:    आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो । अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।

पोखरा:      गण्डकी प्रदेश प्रमुखले आज नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै हुनुहन्छ । सोमबार खगराज अधिकारीको नियुक्तिलाई बदर गर्दै सर्वोच्च अदालतले पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । पाण्डेको नियुक्ति संविधानको धारा १६८ को उपधारा ३ बमोजिम भएको हो । उक्त उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री अधिकारी आदेशपछि पदमुक्त हुनुभएको थियो । दुई महिना नपुग्दै दोस्रोपटक मुख्यमन्त्री बन्न लाग्नुभएका पाण्डेले विश्वासको मत लिन भने चुनौती छ । यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिनुभएको थियो ।

चितवन:   नेकपा (एमाले)चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।

काठमाडौं:     सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट  प्रस्तुत गर्नुभएको हो ।  व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालुतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।  पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब  ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।  वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।  

काठमाडौं:     सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिनेछ । त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिनुभयो । त्रिभुज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिनेछ । परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यसपरियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु। दुई अर्ब विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो । निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइनेछ । प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

काठमाडौं:     सरकारले पर्यटन पूर्वाधार विकासको लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्नुहुँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताउनुभयो । उहाँले जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताउनुभयो । उहाँले मे २९ लाई सगरमाथा दिवसलाई विशेष रूपमा मनाइने बताउनुभयो । उहाँले भरतपुर विमानस्थलको स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभयो ।  उहाँले त्यसको लागि ३६ करोड रुपियाँ विनियोजन गरिने जानकारी दिनुभयो । अर्थमन्त्री पुनले नागरिक उड्डयन पूर्वाधार बनाउन तीन अर्ब ७७ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवर्द्धन मिलाइने बताउनुभयो । पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख सहरमा पर्यटकीय पर्यटक लक्षित रोड सो, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पर्यटन पूर्वाधार विकासको लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।

काठमाडौं:      सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।   अर्थमन्त्री वर्षमान पुनले  संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।  औषधी प्रयोजनको लागि गाँजाको व्यवसायक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गर्नुभएको हो ।

काठमाडौं:     आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपियाँमात्र बजेट खर्च हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गर्नुभएको हो । उहाँले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको भन्दै १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गर्नुभयो । मन्त्री पुनले चालु आवमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ दुई खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात दुई खर्ब ४७ अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको बताउनुभयो । चालुतर्फ १० खर्ब सात अर्ब, पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ६८ अर्ब रूपियाँ खर्च हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजश्व सङ्कलन हुने संशोधित अनुमान गरिएको बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजश्व सङ्कलन हुन नसकेको अर्थमन्त्री पुनले बताउनुभयो ।

काठमाडौं:     चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रो पटक संशोधन गरिएको छ ।  यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय  र व्ययको अनुमान संशोधन गरिएकोमा मङ्गलबार संसदमा  प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै  चालु आवमा रु १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान जानकारी दिनुभयो । कुल सरकारी खर्चमध्ये चालु खर्च रु १० खर्ब ६७ अर्ब ४९ करोड अर्थात् विनियोजनको ९३ दशमलव पाँच प्रतिशत, पुँजीगततर्फ रु दुई खर्ब १५ अर्ब ३० करोड अर्थात् यो शीर्षकमा विनियोजनको ७१ दशमलव तीन प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ४७ अर्ब ५५ करोड अर्थात् विनियोजनको ८० दशमलव पाँच प्रतिशत खर्च हुने गरी संशोधित अनुमान गरिएको छ ।   चालु आर्थिक वर्षमा रु १२ खर्ब ५३ अर्ब बराबर राजस्व उठ्ने संशोधित अनुमान छ । यो सुरुआती लक्ष्यको तुलनामा ८८ दशमलव एक प्रतिशत बराबर हो । यसअघि सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै गत माघमा पहिलोपटक राजस्व र खर्चको अनुमान घटाएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएकोमा अर्द्धवार्षिक समीक्षामार्फत् सुरु विनियोजनको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरिएको थियो । अर्द्धवार्षिक समीक्षामार्फत् सुरुआती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने गरी पहिलोपटक संशोधित अनुमान गरिएको थियो । चालु आवको चालु शीर्षकमा रु ११ अर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड बराबर विनियोजन भएको थियो । अर्द्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान घटाएर चालुतर्फ रु १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् सुरुवाती विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ रु दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् सुरुवाती विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् सुरुआती विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।