तनहुँ: यहाँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको छ, “वर्षा रोकिएपछि निर्माणले गति लिने छ ।” आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भइ काम भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते खरिद सम्झौता भइ विसं २०७५ फागुन १० देखि कार्यान्वयनमा आइसकेको छ । आयोजना निर्माणका लागि एसियाली विकास बैङ् (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर गरी ५० करोड ५० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।
चितवन: डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिनुभयो । गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भन्नुभयो, “गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने छौँ ।” गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै सात जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ । इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ । सङ्क्रमितमध्य अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन् । उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ । सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताउनुभयो । अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताउनुभयो । प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको हो । कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।
काठमाडौं: बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो । नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो ।
काठमाडौं: अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् । वास्तवमा तिनीहरु जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरुलाई हे¥यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस् तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरु किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रुपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन । सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ । तर एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी. कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरु यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरु यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् । ‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र बु्रनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ ? कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् । खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा बु्रनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ । अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ । धनीहरु सधैँ पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरु जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ । हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरु हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरुलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरु सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ । सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन धनीहरुले पनि जागिर गर्नेगर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरु नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवानिवृत्त कुर्न सक्छन् तर धनीहरु कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् । उनीहरुलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ । छुटको ‘अफर’ धनीहरु पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरुले जस्तो दरबारमार्ग र महलहरुमा होइन । उनीहरुलाई थाहा छ, ती सेलहरुमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन । यसैले उनीहरु शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरु जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोशिस गरौँ । पहिला आफूलाई भुक्तान गरौँ एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस। क्लासनले खाली पर्स भर्ने सातवटा तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्” एक चर्चित तरिका हो । ‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरुले १०÷९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरु पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो । धनको अनौपचारिक शिक्षा पढौँ स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ । रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’ उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरुले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरुलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए । औपचारिक शिक्षाले हाम्रो सोच यसरी डो¥यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ । स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरुले बुझे र आफ्ना सन्तानहरुलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ । लगानीमा भिन्नता हेरौँ धनीहरु घाँटीमाथि लगानी गर्ने गर्छन्् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् । उनीहरुलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहो¥याएर गर्ने गर्छ । गरिबहरु मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ । अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरु पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरु आफूलाई मन परेको काम गर्ने गर्छन् । यसका लागि उनीहरुमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरु सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ । आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरु खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरुले बुझेका हुन्छन् । प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव आफैँ अर्बपति बनेकाहरु हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, “‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरुले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।” कैयौँ छिटो सफल पनि भए । स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो ? अवश्य थिएन । यसैले धनीहरुले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ । तर गरिबहरु आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरुले कहिले हार्नु पर्दैन’ । धनीहरुले त्यो जानेका हुन्छन् । समग्रमा धनीहरुले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिर्वतन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् । पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरु शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ । सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्पmत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् । सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच÷छ दशकमा जन्मने अर्बपति अहिले दुई÷तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरु निरन्तर छन् । अर्कोतिर धनीहरु सधैँ छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् । उनीहरुले बुझेका हुन्छन्, आर्जित आयलाई जतिछिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ । यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल रु पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ । (लेखक शेयर बजारका जानकार हुनुहुन्छ)
ताप्लेजुङः ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो । आज बिहान उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ । लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो । “जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो । विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनैपनि नीति नबनेको बताउनुभयो । उहाँले जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताउनुभयो । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताउनुभयो । विसं २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमका बारेमा जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीन दिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमानसमेत गर्दै आएको छ ।
काठमाडौं: नेपाली सेनाले विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण संरचना र प्रतिष्ठान गरी एक सय ५५ स्थानमा सेवा प्रवाह गर्दै आएको छ । गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकायसँगको समन्वयमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका गढी र किल्लाको संरक्षण गर्दै आएको छ । राष्ट्रिय एकीकरणका बेला प्रयोग भएका ऐतिहासिक पदमार्गको पहिचान गरी तिनको सम्भार र संरक्षण पनि सेनाले गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो । विपद् व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो । सङ्घ र प्रदेशमा अभ्यास हातेमालो र देशका सबै जिल्लामा सरोकारवाला र सुरक्षा निकायको समन्वयमा प्रत्येक वर्ष ‘अभ्यास मनसुन’ सञ्चालन गरिरहेको छ । त्यस सिलसिलामा एक सय २५ सामुदायिक विपद् प्रतिकार्य तालिम र अभ्यासमार्फत एक वर्षमा तीन हजार तीन सय ९० जनालाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य योजनाअनुसार अत्याधुनिक स्रोत साधनसहित एक हजार एक सय २६ जनालाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिमप्राप्त जनशक्ति मुलुकका २२ स्थानमा परिचालन भएका छन् । प्राकृतिक र मानव सिर्जित डढेलो, पहिरो, बाढी, डुबान र दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्न चार हजार चार सय ३८ जना परिचालन भएका छन् । एक सय ५४ सुत्केरीको उद्धार नेपाली सेनाको हवाई साधनबाट भएका उडानमध्ये ८५ प्रतिशत उद्धारमा प्रयोग भएका छन् गत आर्थिक वर्षमा गैरसैनिक नागरिक उद्धार एक सय ५४ वटा भएका थिए । सेनाले राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, राष्ट्रिय विकास, आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति कार्य, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकता प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारमा आफूलाई समर्पित गर्दै आएको छ । मुलुकको प्रमुख राष्ट्रिय सुरक्षा सङ्गठन नेपाली सेनाले नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सिलसिलामा निःशुल्क स्वास्थ्य शिविर, सचेतानामूलक कक्षा, रक्तदान, सर्पदंश उपचार र श्रमदान कार्यमा समेत सहयोग पुर्याइरहेको छ । सेनाले वन तथा वन्यजन्तु संरक्षणका लागि आठ हजार एक सय ३६ फौज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको सुरक्षामा खटाएको छ । त्यसक्रममा हालसम्म एक सय १६ जनाले वीरगति प्राप्त गरेका छन् । १६ लाख वृक्षरोपण सेनाले वन तथा पर्यवारण संरक्षण गर्ने क्रममा हालसम्म १६ लाख १८ हजार पाँच सय ७५ विरुवा रोपिसकेको छ । देशको महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका हिमालको सौन्दर्य कायम राख्न सेनाले प्रत्येक वर्ष सफा हिमाल अभियान सञ्चालन गरी त्यस क्षेत्रबाट फोहर सङ्कलन गर्दै आएको छ । पछिल्ला वर्षमा सेनाले ऐतिहासिक तालतलैयाको संरक्षण र संवर्द्धनमा पनि नागरिकसँग हातेमालो गर्दै आएको छ ।

