काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा:   स्वदेशी उत्पादनलाई बढावा दिन नेपाल सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउला ? धेरै कृषकको मनमा उब्जेको प्रश्न थियो ।   आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि केन्द्र सरकारले कृषिलाई पनि प्राथमकितामा राखेर बजेट नै ल्यायो ।     अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले गत जेठ १ गते अल्लोको झोलामा बजेट ल्याए । विदेशबाट भित्राइएको ‘ब्रिफकेस’ छाडेर अर्थमन्त्री पुनले स्थानीय स्तरमै पाइने अल्लो र ढाकाको झोलामा बजेट बोकेर संसद भवनमा झुल्किए ।    त्यसपछि कृषकका प्रश्नको केही जवाफ त्यही भाग्यमानी अल्लोको झोलाले दियो, जसले सिंगो देशको बजेट बोकेको थियो ।    तिनै अर्थमन्त्री पुनले गरेको कामको सिको गर्दै कोशी प्रदेश मात्रै अल्लोको झोलामा गत १ गते बजेट ल्यायो । तर अन्य ६ वटा प्रदेशले भने उही पुरानै ढर्राबाट ‘ब्रिफकेस’मा बजेट ल्याएर सार्वजनिक गरे ।   स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको ( राजस्व र व्यय बजेट) अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।    असार १० गते नीति तथा कार्यक्रमसँगै बजेट ल्याउने समयमा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाकामध्ये बागलुङ, म्याग्दी र कास्कीका केही गाउँपालिकाले स्थानीय स्रोतबाट नै उत्पादन भएको अल्लो र ढाकाको झोलाबाट नै बजेट ल्याए । यद्यपी अधिकांश पालिकाले उही पुरानै ‘ब्रिफकेस’मा बजेट ल्याए ।    स्थानीय उत्पादनको प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट: उपाध्यक्ष रोका    बागलुङको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले स्थानीय उत्पादनको प्रचारसँगै प्रवर्द्धन् गर्न अल्लो र ढाकाको झोलामा बजेट ल्याएको बताए ।    ‘हामीले अल्लोको झोलामा बजेट ल्याउँदै केन्द्र सरकारकोे सिको गरेजस्तो देखिएको होला, उपाध्यक्ष रोकाले भने, ‘स्थानीय तहले गाउँपालिका भित्र उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रचार–प्रसारसँगै बजारीकरणमा प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट ल्याएको हो ।’   गाउँपालिकाले बजेट ल्याउने बेलामा अल्लाको झोला देखाउन मात्र नभएर यसको प्रचार र बजारीकरणको लागि अवसर पनि हो भन्ने उद्धेश्य लिएको उपाध्यक्ष रोकाले बताए ।    उनले गाउँपालिका भित्र रहेका अल्लोको सदुपयोग गर्दै झोला मात्र नभएर अब अल्लोबाट बन्ने सामग्रीको तालिम गाउँपालिकाले सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए ।    ‘स्थानीय स्रोत र साधनको सदुयोग गर्दै स्थानीयहरुलाई लघुउद्यमसँग जोडेर आय आर्जनमा जोड्ने प्रयास हो, उनले भने, ‘गाउँपालिका भित्र रहेका अल्लोको प्रशोधन गरेर उद्यमीसँग जोड्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्छ ।’   तालिमपछि जन्मियो उद्यमी समूह   प्रदेश र स्थानीय तहको सहयोगमा हस्तकलासम्बन्धि तालिम लिएका बागलुङको ताराखोला गाउँपालिकाका ९ जना महिला अहिले घरेलु उद्यमसँग जोडिएका छन् ।   दुइवर्ष अगाडि ताराखोला गाउँपालिका र गण्डकी प्रदेशसँग विभिन्न हाते झोलासँगै स्कुल झोला बनाउने तालिम लिएकी ताराखोलाकी उद्यमी एवम् ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहका अध्यक्ष गौमती घर्तीमगरले बताइन् ।    ‘दुइवर्षअगाडि हामीलाई ताराखोला गाउँपालिकाले हस्तकलासम्बन्धि विभिन्न किसिमका झोला बनाउने १५ दिनको तालिमको दिएको थियो, मगरले भनिन्, ‘गाउँपालिकाको तालिमपछि हाम्रो ९ जनाको समूह पुन: १५ दिनको तालिमका लागि पोखरा गएर अझ सिकेको सीपलाई थप निखार्ने अवसर पायौं अहिले आफ्नै गाउँतिर उद्यमसँग जोडिन पाउँदा खुशी छौं ।’   उनले कुहिएर जाने स्थानीय वस्तुहरु प्रयोग गरेर घरेलु उद्यमसँग जोडिन पाउँदा खुशी लागेको उद्यमी घर्तीमगरले सुनगाभा न्यूजसँग बताइन् ।    ‘अल्लो हाम्रो गाउँमा प्रशस्त पाइन्छ । बाउ बाजेले धागो बनाएको देखेको थिए । पहिले पनि गाउँमा केही उद्यमीले धागो बनाउने गर्थे, उनले भनिन्, ‘पालिका र प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउन तालिम दिएको थियो । तालिमपछि उद्यमीमा जोडिन पाउँदा हामी खुशी छौं ।’   तालिमपछि उनीहरुले ताराखोला गाउँपालिका–५ मा ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूह गठन गरेका हुन् । समूहकी उनै गौमती अध्यक्ष छिन् । तालिम दिएपछि जनप्रतिनिधि तथा कर्मचारीले समय समयमा तालिमको सही सदुपयोग भएको छ छैन भन्ने अनुगमन गर्न आवश्यक रहेको उनले बताइन् ।   ‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले दिएको तालिमको समय–समयमा अनुगमन हुन आवश्यक छ, उनी भन्छिन्, ‘उद्यमको तालिम लिएपछि तालिमको सदुपयोग भएको छ । छैन भनेर अनुगमन गर्दा मात्र तालिमले सार्थकता पाउँछ ।’   घरको काम सकेर मात्र उद्यमका लागि समय मिलाउने पर्ने बाध्यताका कारण उद्यमीमा केही असर परेको उनले सुनाइन् ।    ‘घरायसी काम गरेर सिध्याएर मात्र उद्यममा जोडिन पाउछौं । धेरै नै अर्डर आए त घरको काम नै छोडेर झोला तयार गर्न लाग्छौं नत्र घरधन्दा सकेर मात्र झोला बनाउन जान्छौं । दिनमा एकजनाले बिहानदेखि नै काम गरे २ वटासम्म झोला बनाउन सकिन्छ,’ उनले भनिन् ।    ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहले तयार गरेको उद्यमीको सामग्री प्रवद्र्धन गर्न गाउँपालिकाले सहयोग गर्दै आएको छ । पालिकाले हस्तकलाका सामग्री मात्र नभएर गाउँका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन्गर्न व्यवसायिक रुपमा गाउँपालिकाले विभिन्न मेला महोत्सवमा सामग्रीको प्रवर्द्धन् गर्न सहयोग गरेको छ ।    गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउन अल्लो र ढाकाको झोलाको अर्डर गरेपछि यही समूहले झोला तयार गरेर गाउँपालिकालाई विक्री गरेको हो । अल्लोको झोलाको माग भने पर्याप्त नभएको उनले बताइन् ।   अल्लोको प्रशोधन कसरी गरिन्छ ?    अल्लोलाई स्थानीय भाषामा ‘चाल्ने सिस्नो’ भनेर चिनिन्छ । नेपालको पहाडी भू–भागका जङ्गलहरुका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने एक वनस्पती हो ।   समुद्री सतहदेखि करिब १ हजार २ सय मिटरभन्दा माथि मात्रै अल्लो पाइन्छ । यसको काण्डको बोक्राबाट प्राप्त हुने रेसाबाट नै धागो निकाल्ने गरिन्छ ।    अल्लो प्रशोधन साधारणतया कात्तिकदेखि पुस महिलासम्म अल्लोको बोक्रा संकलन गरेर स्थानीय विभिन्न प्रविधिको प्रयोग गरेर यसको बोक्राबाट रेसा उत्पादन गरेर धागो बनाउने गरिन्छ ।   रेसा उत्पादनका लागि अल्लोको बोक्रालाई पानी डुबाएर केही दिन डुबाएर राख्नुपर्छ । त्यसपछि खरानी हालेर उमालेपछि पानीले सफा गर्ने क्रममा रेसाहरु छुट्टिने गर्छ ।    रेसाहरु छुट्याउन बिस्तारै काठको मुङ्गोले ठोक्दै पखाल्ने गरिन्छ  । यसरी निस्केको रेसालाई मकैको पिठो तथा कमेरोसँग मिसाएर घाममा सुकाएर उत्पादन गरिएको रेसा नै धागो हो ।    अल्लोको धागोबाट झोला, रुमाल, खास्टो, गलैँचा, कुसन लगायतका सामग्रीहरु बनाउन सकिने उद्यमीहरु बताउँछन् ।     

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन् । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन संरचनाअन्तर्गत १६ जना स्थायी कर्मचारी आवश्यक रहे पनि हाल परिषदमा एक जना अधिकृतस्तरको कर्मचारी, दुई जना सहायक कर्मचारी, एक जना सवारी चालक र दुई कार्यालय सहयोगी रहेका छन् । परिषदमा अझै ८ जना कर्मचारीको दरवन्दी रिक्त रहेको सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिए । 

काठमाडौं:    काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।  मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे ।  “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास सम्भव छैन् । युवालाई नेतृत्व तहमा पु¥याउन र क्षमता अभिवृद्धि गर्न प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी देखिन्छ । आशा छ, मन्त्रालयले आजबाट चार दिनसम्म आयोजना गरेको उक्त कार्यक्रमबाट सहभागी सबै भाईबहिनीहरु लाभान्वित हुनुहुनेछ । सामाजिक रुपान्तरणमा यहाँहरुको भूमिका अब्बल रहनेछ, सबैलाई शुभकामना ।”, उनले भने ।  मन्त्रालयका सचिव प्रकाश पौडेलले नेतृत्वको अवसर सिर्जना गर्न, विकास गर्न र क्षमतामा अब्बल बनाउन नमुना युवा संसद अभ्यास प्रभावकारी रहेको उल्लेख गरे । उनले नमुनाका रुपमा उत्पादित जनशक्तिलाई नमुनाकै रुपमा विभिन्न तहमा ल्याउने प्रयास अन्तर्गत नै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक एवम् मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाले कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पारेका थिए ।  चार दिनको कार्यक्रमको प्रशिक्षकका रुपमा राष्ट्रिय युवा परिषदका अभिनास कार्की, विवेक त्रिपाठी र जिल्ला युवा परिषद कास्कीका विवेक देवकोटा प्रशिक्षकका रुपमा रहनेछन् । कार्यक्रमको समापनमा प्रदेश सरकारका सभामुख, मन्त्री र सांसदको उपस्थितिमा सहभागी युवाहरुले नमुना संसदको अभ्यास गर्नेछन् । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका ३० जना युवाहरुको सहभागिता छ ।  

काठमाडौं:       लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत जिल्लाका नौ जना नेता तथा कार्यकताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टीका पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा छन् ।

काठमाडौं:     बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले  माध्यामिक शिक्षा परीक्षा ९एसइई० नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् । बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जना ननग्रेड (एनजी) पाएका छन् । गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् । यसैगरी, लुम्बिनी प्रदेशबाट एसइईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् । कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् । एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् ।  

काठमाडौं:      मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उहाँले बताउनुभयो ।

काठमाडौं:     राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् । एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक(फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।

काठमाडौं:     दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो ।  ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए । त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११।५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन । मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।