काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

चितवन:   चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ।   ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो।   ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो।   उहाँको अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो।   रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो।   वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो। झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो।   वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गर्नुभएको हो।   सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो।   प्रतिघर निर्माण गर्न  सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो।   भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर ५० हजार लगानी गरेका छन्।  

तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।    सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।    स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डपिआर) तयार भइसकेको छ ।”    उहाँका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ ।    केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा. श्रेष्ठले जानकारी दिनुभयो । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उहाँको भनाइ छ ।   “केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ”, डा. श्रेष्ठले भन्नुभयो, “यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।” उहाँका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।    “उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्”, कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् ।   साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि वि.सं. २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।    केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ ।   नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो ।   “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”   पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।   “विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”   सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताउनुभयो ।   “काठमाडौंको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।”   अहिले सडक विभागअन्तर्गत काठमाडौंको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

गोरखा:   जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ ।   गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने  १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्रे भएको हो । वि.सं.२०४५ मा मार्ग खुलेको यो सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो।    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर–पडेनी चौतारा क्षेत्रमा कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ ।    वि.सं. २०४५ मा मार्ग खुलेको सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ ।    वि.सं. २०७६ मा रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह–पिके–गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिला गरी सडक कालोपत्रे गर्ने काम सकेको हो । नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्रे गर्न संरचना निर्माणको काम भइरहेको छ ।    गत वर्ष रु २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर–ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक इन्जिनियर दिपक बस्नेतले बताउनुभयो ।    गोरखा नगरपालिका र बारपाक सुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । 

काठमाडौं:    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन(पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।” पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पोखरा:    वर्षातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ ।  आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ नागरिक समाज फेवाताल संरक्षणका लागि जुनसुकै मूल्य चुकाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।  स्वयंसेवी रूपमा सफाइ अभियान सञ्चालन गर्दै आइरहेको महानगरपालिकाले सोमबारदेखि भने स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाउने भएको छ । ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ, नगर प्रमुख आचार्यले भन्नुभयो, यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोत मै व्यवस्थापन थालिएको उहाँले बताउनुभयो ।  आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन् । पहिलो दिन १५ टिप्पर जलकुम्भी निकालिएको छ । सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो । सशस्त्र प्रहरीको अभियानमा सधैँ साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको संरक्षणका लागि हातेमालो गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई आह्वान गर्नुभयो । फेवातालको प्रत्यक्ष फाइदा लेकसाइड र आसपासको क्षेत्रलाई भएको उल्लेख गर्दै उहाँले यसको संरक्षणमा पनि उत्ति कै इमानदार बन्न आह्वान गर्नुभयो । उहाँले सबै सरोकारवालाहरूको हातेमालोले मात्र संरक्षण र विकास अभियानका उद्देश्यहरू पूरा हुने धारणा राख्नुभयो ।  पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्ने छन् । फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियान्ताहरुले बताएका छन् ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।  प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख आचार्यले बताउनुभयो ।  ‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भरि नै विस्तार गरिने छ ।’  आफूहरू आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै उहाँले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षणको सुविधा सहित सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले अमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि यसअघि नै घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरू वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिम्सिनाका अनुसार यस कार्यका लागि वडालाई तिन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ ।  दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो ।  कार्यक्रमका क्रममा दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित फ्लोअपका लागि सम्बन्धित स्वास्थ्य संस्थाहरूमा जानका लागि उचित परामर्श समेत दिइने उहाँले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चालिने उहाँले बताउनुभयो ।   

धनुषा:    जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो ।   गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो ।   सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं:   उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनुभएको यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।  ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।   आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि अहिले प्रचण्ड सरकारमै छ ।