काठमाडौ: क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङगा गुरुङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौँको गोकर्णेश्वर–४ नामगेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुका साथबाट अनलाइन ‘गेम’ खेलाउन प्रयोग भएका ल्यापटप पाँच र मोबाइल ११ सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
तनहुँ: लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्कीको अमरसिंहबाट एक जनालाई पक्राउ गरेको छ । तनहुँ प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेपछि उक्त कारोबारमा संलग्न देखिएपछि म्याग्दी मालिका गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–१४ बस्ने २३ वर्षीय एबिन पुनलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१ ख ९६१९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाइजापाम २० एम्पुल, फेनारगन २० एम्पुल, बु्रफोनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने १७ वर्षीय किशोरलाई फक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानको क्रममा एबिन पुनकोसमेत संलग्नता रहेको पुष्टि भएपछि पुनलाई पोखराको अमरसिंहबाट कास्की प्रहरीको समन्वयमा हिजो (आइतबार) पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई भैरहवा विमानस्थलबाट सिआइबी कार्यालय काठमाडौं पुर्याइएको छ । सुन तस्करी प्रकरणमा मुछिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई सिआइबी कार्यालय लगेको हो । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बयान लिएर कागजात गरेर छाडेको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।
रौतहट: मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको आरोपमा तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए । गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौँमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।
स्याङ्जा: वालिङ नगरपालिका–१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका–९ का १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित पक्राउ गरेको हो । सो विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नुवाकोट: नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । “बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो”, प्रनाउ खड्काले भन्नुभयो, “शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।” प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।
पाेखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । उनीविरुद्ध गत फागुन २८ गते बिहान साढे ७ बजेको समयमा १५ वर्षकी बालिकालाई यौन दुर्व्यहार गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि बाल यौन दुर्व्यहार कसुरमा ५ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरमा एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ५६ वर्षीय कुल बहादुर शाही रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शाही उनको घरबाट बन्दुकसहित गत शुक्रबार दिउँसो पक्राउ गरेको हो । सो विषयमा तनहुँ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।