पोखरा: कास्की प्रहरीले पोखराको पामे क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ जामुनेबोट बस्ने ३८ वर्षीय 'राजु न्याकेड' भन्ने नर बहादुर बिक रहेका छन् । उनलाई आज वडा कार्यालय वैदामबाट खटिएको बिशेष टोलीले पोखरा २४ बाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बिकको साथबाट पेस्तोलसहित ९ एमएमको गोली, नगद रु १६ हजार र नोकियाको मोबाइलसेट बरामद गरिएको छ । बिक यसअघि १३ वटा मुद्धाका फरार प्रतिवादी हुन् । हाल पक्राउ परेका बिकमाथि पुराना मुद्धासँगै हातहतियार तथा खरखजना कसुरमा मुद्धा दर्ता भई अनुसन्धान थालिने डिएसपी शर्माले बताए ।
कञ्चनपुर: कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपाली रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार दिपकले ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि दिपकको खोजी गरिएको थियो । हाल पक्राउ परेका दिपकमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने २५ वर्षीय दिल बहादुर आले रहेका छन् । उनले गत ७ गते करिब साढे ६ बजे तालचोक आउने क्रममा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलले म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भई हाल पोखरा २९ बस्ने पैदलयात्री ८ वर्षीय बालकलाई भण्डारढिकमा ठक्कर दिएर फरार थिए । त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवालाई प्राप्त सूचनाको आधारमा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलसहित चालक आलेलाई आज पक्राउ गरिएको हो । हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामा रहेका छन् । उनलाई दुर्लभ वन्यजन्तु झारलको १० किलो मासु र हड्डीसहित पावर हाउसबाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वन कार्यालयमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भई हाल पोखरा २ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् । उनीहरुलाई पोखरा ५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले गत चैत्र २४ गते पोखरा महानगरपालिका –८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालयको सिसा फोडेर नगद रु ५ लाख ८२ हजार ५ सय ८०, मोबाइल १ थान र ५ थान झोला लगायतका समाग्री चोरी फरार थिए । हाल पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ विरौटास्थित स्टार कारवासको छाप्रोमा जुवातास खेलिरहेका ३८ वर्षीय भिम बहादुर बिकसहित ४ जनालाई गएराती पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
धनुषाः धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमानले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताउनुभयो । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँले बताउनुभयो । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ ।
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पाल्पा प्रहरीका अनुसार पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बर बहादुर सारु रहेका छन् । उनले गत सालको कात्तिक १३ गते पीडितकै घरमा बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उजुरीमा जबरजस्ती करणीपश्चात गर्भ रहन गएको उल्लेख छ । सोही उजुरीकै आधारमा अम्बर बहादुरलाई प्रहरी चौकी हुँगीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
तनहुँ: इलाका प्रहरी कार्यालय बेलचौताराले आफ्नै बुवाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीगाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनले आफ्नै ७६ वर्षीय बुवा रापबहादुर बिकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि सोही आधारमा शुक्रबार दिपकलाई पक्राउ गरिएको हो । सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।