पोखरा: कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी चाउँथेबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा प्रयोजन खुल्ने कागजात साथमा नभएकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । सेती नदीको विभिन्न घाटको टेण्डर नखुल्दा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको छ ।
पोखरा: पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले पर्यटक तथा स्थानीयहरुलाई अनावश्यक रुपमा दुःख हैरानी दिएको आरोपमा आज ७ जनालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–९ स्थित लखनचोक (पृथ्वीचोक) बसपार्क एरियामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुल होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने तथा लागूऔषध पदार्थ सेवन गरी होेहल्ला गरी स्थानीयहरुलाई समेत दुःख हैरानी दिएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका ११ रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा ९ बस्ने २७ वर्षीय सन्दीप मिजार र पोखरा १४ बस्ने१८ वर्षीय नितेश लामा रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रामघाटबाट फक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजापाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल गरी कुल २६१ एम्पुल लागूऔषध र २ मोबाइल बरामद गरिएको छ । पक्राउ परेको उनीहरुविरुद्ध लागूऔषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका ७ रत्नचोकस्थित अर्जुन कुमार श्रेष्ठको घरबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कुमार श्रेष्ठसँगै सोही स्थानकै शिव बहादुर बिक, बसन्त केसी, बसन्त लामा, कृष्ण रावत र गोकर्ण श्रेष्ठ छन् । वडा प्रहरी वैदामलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद १५ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत थिए। घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ। पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु, जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए। घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको एसएसपी रजौरेको भनाइ छ। प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको उनले बताए। घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ। त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको बताए। प्रहरीले युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको उल्लेख गरेको छ। अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरू भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको एसएसपी वसन्त रजौरेले बताए। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शंकास्पद अवस्थामा फेला परेको थियो।
काठमाडौं: ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसूर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो । यसैगरी, विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो । बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताउनुभयो । वरिष्ठ उपरीक्षक थपलियका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ । जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको थपलियाले जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक थपलियाका अनुसार बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के।जी। ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको छ । निजहरुविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।
पोखरा: इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छन् । उनलाई घरको कोठाबाट लागूऔषध गाँजा ३ किलो ७०० ग्राम, मोबाइल थान १ र नगद रु. ९ हजार ७ सय ४५ बरामद गरेको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार गणेशले नयाँबस्तीमा गाँजा सञ्चय गरी विक्री वितरण गर्दै आएका थिए । हाल पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने २८ वर्षीय लगिन थापा रहेका छन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार श्रेष्ठ र थापाले गत महिनाको २२ गते पोखरा ३ नदिपुर स्थित सार्वजनिक स्थानमा एकजना व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार थिए । त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १ बाट पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठ र थापाविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन दुई (२) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।