पोखरा — जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसुरका एक प्रतिवादी पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२९ प...

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार र २४ वर्षीय इच्छे चुँदार रहेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।   प्रहरीले शरीर रीतपूर्वक खानतलासी गर्दा उनीहरूले लुकाइछिपाइ ल्याएको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ डिजिटल तराजुसहित १.४० ग्राम (प्लास्टिकबाहेक) बरामद गरेको जनाएको छ।   त्यसैगरी उनीहरूको साथबाट ट्रिपेन्डाडोल १९० चक्की, डाइजापाम ७९ एम्पुल र मोबाइल थान–१ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।   पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका(३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।   काठमाडौं उपत्यकाको विभिन्न वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो ।  पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो ।   कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो । उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो । पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ ।

पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।   माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।   पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ पुर्णगाउँ घर भई हाल पोखरा महानगरपालिका–५ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभाको मकालु गाउँपालिका–३ घर भई हाल कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप बिश्वकर्मा रहेका छन्।   बगरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले सुरेश परियारको घरमा डेरा गरी बस्ने सुदिप बिश्वकर्माको कोठा खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो।   कोठाभित्र खाटको पछाडि बोरामा लुकाई राखेको अवस्थामा काठ र फलामबाट बनेको, ट्रिगर सहितको २ वटा चिन्नी र तार जडान भएको अवैध घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।   पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए ।   छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।   प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।   घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएबापत तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।   सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।   टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।   नियन्त्रणमा लिइएका खड्का माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–११ का ३२ वर्षीय विकास नेपालीलाई पक्राउ गरेको हो।   प्रहरीले उनको साथबाट फेनिरागन (Pheniramine) २१ एम्पुल, डाइजेपाम (Diazepam) २१ एम्पुल र नुर्फिन (Norphine) २६ एम्पुल गरी कुल ६८ एम्पुल लागूऔषध बरामद गरेको छ।   पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा २० जना पु​रुष र ७ जना महिला गरी कुल २७ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर गर्नका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।   प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ४ वर्ष १५ दिन कैद सजाय भुक्तान हुन र ४८ लाख १ हजार ८ सय ८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।   प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर कसूरका १२ जना र केही सार्वजनिक अपराध कसूरका ५ जना रहेका छन् ।    यसैगरी अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना तथा बैंकिङ कसूरका २ जना प्रतिवादी पक्राउ परेका छन् ।    सवारी ज्यान सम्बन्धी कसूर र अभद्र व्यवहार सम्बन्धी कसूरका १–१ जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।   अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकबाट २९ वर्षीय युवकलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा पोखरा–२७ रिठ्ठेपानी बस्ने भरत घिसिङ रहेका छन् । उनको साथबाट प्रहरीले ३ सय ४५ एम्पुल लागुऔषध बरामद गरेको छ ।   रिठ्ठेपानी क्षेत्रमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिसुवा र लागुऔषध नियन्त्रण ब्यूरोको टोली परिचालन गरिएको थियो ।   प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ग ७ प ७२४१ नम्बरको मोटरसाइकलमा सवार घिसिङको साथबाट लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला पारेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बस्नेतले जानकारी दिए ।   उनका अनुसार घिसिङको साथबाट डाइजेपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नुर्फिन ११५ एम्पुल बरामद गरिएको छ ।   यस्तै नगद रु १ हजार, मोबाइल १ थान र ग ७ प ७२४१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको डिएसपी बस्नेतले बताए ।   बस्नेतका अनुसार पक्राउ परेका घिसिङलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।