धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय यम बहादुर कँडेल रहेका छन् । उनले आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए। यमबहादुर गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनले प्रहरीसँग विवाद गरिरहेको भाइरल भिडिओहरूमा देख्न सकिन्छ। भिडिओमा उनले प्रहरीसामु उभिएर ‘मेरो आँखामा डर छरु ल हेर्नुस् म डराएको छुरु म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै गरेको देख्न सकिन्छ। प्रहरीलाई आमा र देशबारे सोच्न भन्दै आक्रोश पोखेका थिए । यमबहादुरले आइतबार राति साढे ८ बजे धारिलो हतियार खुँडाले आमाको हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ। घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
बारा: जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा: सिरहा जिल्लाको गोल बजार नगरपालिका–१३ स्थित भेल्हा डंगराहा गाउँमा एक किशोरको अपहरणपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भएको छ। १५ वर्षीय अभिषेक सिंहको शव मङ्गलवार बिहान गाउँकै आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ। अभिषेक गत असोज ५ गते साँझ अचानक हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। तर भोलिपल्ट बिहान अभिषेककै इमो एपमार्फत आमालाई आएको एक सन्देशले घटनाले नयाँ मोड लिएको थियो। सन्देशमा लेखिएको थियो– “तपाईँको छोरा हाम्रो कब्जामा छ। पाँच करोड रुपैयाँ नदिए उसको ज्यान लिनेछौँ। प्रहरी वा अरू कसैलाई खबर गरे परिणाम घातक हुनेछ।” यस्तै किसिमका धम्कीपूर्ण सन्देशहरू लगातार आइरहेका थिए। अपहरणकारीहरूले आफूहरू बिहारबाट भएको दाबी गर्दै पैसा नदिए हत्या गर्ने चेतावनी दिएका थिए। परिवार अत्यन्तै तनावमा परेपछि अन्ततः प्रहरीले सहयोग लिएको थियो। घटनाको अनुसन्धानमा खटिएको टोलीका अनुसार अभिषेकको शव स्थानीय आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो। “हत्या गम्भीर प्रकृतिको देखिएको छ, अपराधीको पहिचान तथा पक्राउका लागि हामी सबै स्रोत परिचालन गरिरहेका छौं,” एसपी शर्माले भन्नुभयो। हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तर प्रारम्भिक अनुमान अनुसार अपहरणपछिको योजनाबद्ध हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीयवासी भने सो घटनापछि आक्रोशित र त्रसित छन्। बालकको निर्दोष हत्या र पाँच करोड फिरौतीको मागले गाउँमा सन्त्रास फैलिएको छ।
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले टोलीले एक महिलासहित ४जनालाई मंगलबार पक्राउ गरेको हो । खाजाघरमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन घर भई पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका घर भई पोखरा ८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनि नगरपालिका–८ घर भई पोखरा न्यूरोडबस्ने २१ वर्षीय सागर थापा मगर शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । यस्तै प्रहरीले जाल्पारोडमा रहेका खाजाघरबाट ११ जना महिलाहरुको उद्धार गरेर कोपिला नेपाल संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटाइएको थियो । भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । आयोगले भण्डारीसहित बरामद गरिएको नगद र एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अर्घाखाँची: आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा: पोखरामा बालिकालाई ललाई फकाई गरी विभिन्न प्रलोभन देखाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालक सिन्धु किसानलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नालामुखस्थित सिन्दु खाजाघर सञ्चालक २३ वर्षीय सिन्धु किसानलाई बालिकालाई ललाई फकाई यौन धन्दामा लगाएको गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित रहेका १९ खाजाघर सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । बागलुङ बसपार्कस्थित सञ्चालित खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनापछि खटिएको प्रहरीले टोलीले शुक्रबार १९ वटा खाजाघरका सञ्चालकलाई पक्राउ गरेको हो । खाजाघर सञ्चालन गरेर लागूऔषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

