पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् । आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो । पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि ८ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।
पोखरा: पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको हो । पर्वतको कुश्मा नगरपालिका-१२ ठुलिपोखरी घर भई पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीय सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १ सय ६७ एम्पुल, डाईजापाम १ सय ६८ एम्पुल, फेनरागन १ सय ६६ एम्पुल गरी ५ सय १ एम्पुल लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ । प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ६ दिनको म्याद गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १६ पेप्सीकोला बस्ने सुनसरी इनरुवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौं महानगरपालिका– २६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
म्याग्दी: म्याग्दीको धवलागिरी गाउँपालिका–५ कल्कवाङमा कामदारको हत्या गरेको अभियोगमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेललेका अनुसार आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षको मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्म ती दर्जीले हत्या गरी फालेका थिए । गत वैशाख २८ गते बेवारिसे शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दर वाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।
चितवन: चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। चितवनको भरतपुर महानगरपालिका– २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए। उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। आइतबार राति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन। पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए। घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन्।
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाकाे पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् । गत ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुतालाई पक्राउ हो । ज्ञानुताविरुद्ध शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् । उनीहरुको साथबाट ट्रामाडोल ३ हजार ५ सय ४३ ट्याब्लेट र करिब ३ सय ग्राम गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई १ हजार १ सय ८० ट्याब्लेट ट्रामाडोल र विशाललाई २ हजार ३ सय ६३ ट्याब्लेट ट्रामाडोल र करिब ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको थियो । उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।