पुस २ गतेदेखि लेखनाथ महोत्सव

महोत्सवमा ३३५ वटा स्टल

पाेखरा | मंसिर ७, २०८३

पुस २ गतेदेखि लेखनाथ महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२ औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । 

 

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित तालचोकमा आयोजना हुने महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 

 

संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिवेशमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भएतापनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गरी कृषकलाई सम्भावनाको बाटो देखाउन यसलाई निरन्तरता दिइएको बताइन् ।

 

‘वर्तमानको परिवेशमा निजी क्षेत्रको मनोबल केही खस्किएको छ । बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नभएकाले निजी क्षेत्र लगानी गर्न इच्छुक देखिएको छैन।’ उनले भनिन्, 

 

पराजुलीले अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीप्रति पनि उनले चिन्ता व्यक्त गरिन् ।

 

महोत्सव सिक्ने र सिकाउने थलो बनेको र यसलाई अनौपचारिक विश्वविद्यालयका रूपमा स्थापित गर्न सफल भएको स्मरण गरिन् ।

 

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि र सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी हुनेछ । 

 

फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनी, कृषि, पर्यटन र उद्योगबारे संवाद कार्यक्रम पनि रहनेछन्। महोत्सवको आकर्षणका रूपमा ’एसियाको ज्योति’ तथा शान्तिका दूत मानिने गौतम बुद्धको प्रतिमा राखिने उनले जानकारी दिए ।

 

सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी ¥याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य र कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम हुनेछन् । 

 

यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका कलाकारको लोकदोहोरी, स्टेज सो (हास्यव्यङ्ग्य), बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल ¥याली र उत्कृष्ट स्टल पुरस्कार पनि आयोजनामा समेटिएका छन् ।

 

महोत्सवमा ३३५ वटा स्टल

 

महोत्सवमा कुल ३ सय ३५ वटा स्टल रहनेछन् । सोमध्ये गार्मेन्ट तथा रेडिमेट कपडा र फुटवेयरका सबैभन्दा बढी ११२ स्टल छन् ।

 

कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल स्टल २४, फुड एन्ड बेभरेज १८, खाना महोत्सव १७, हस्तकला १४, शैक्षिक÷ग्रामीण प्रविधि÷कृषि प्रदर्शनी १३, डेरी १३, मेसिनरी १२, नेपाली उत्पादन प्रदर्शनी १०, अटो प्रदर्शनी ६ र बैंक, वित्तीय संस्था तथा प्रायोजकका ३० स्टल हुनेछन् । संघका सदस्यले आफैँ स्टल राखे २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु. २ हजार छुट पाउनेछन् । 

 

सदस्यका लागि स्टल बुकिङ मंसिर ७ गते सोमबारदेखि नै खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११ गतेदेखि खुला हुनेछ। प्रवेश टिकट विद्यार्थीका लागि रु. ५०, सर्वसाधारणका लागि रु. १०० र सुगम सङ्गीत (कन्सर्ट) का लागि रु. २०० तोकिएको छ ।

 

आयोजकका अनुसार महोत्सवमा करिब २ लाख ७० हजार दर्शक आउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने भएकाले २० लाख रुपैयाँ बचत हुने अनुमान छ । 

 

बचत रकम सात तालको संरक्षण तथा प्रवद्र्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ।

 

महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म १० जना निर्देशक, ५५ सल्लाहकार, ५० उपसमिति संयोजक, ९० कार्यसम्पादन समिति सदस्य, १२० मूल समारोह समिति सल्लाहकार र ३०० मूल समारोह समिति सदस्य रहने गरी समिति गठन गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेकाा छन्।   भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाह...

थप पढ्नुहोस्

विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ।    बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको ह...

थप पढ्नुहोस्

काठमाडौँ ।  दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ...

थप पढ्नुहोस्