काठमाडौं:    २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाँके...

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

पर्सा:   जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।   उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।   हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।   छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए ।   निजलाई फैसला कार्यान्वयनका लागि मंगलबारै जिल्ला अदालत पर्सामा पेस गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ ।   जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।   उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।   उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।   गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो ।   घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।   त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।   अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।   घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

ललितपुर:  बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर–५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत–५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर–३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत–९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् ।    प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको थियो ।    एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका–३ सार्वजनिक सडकबाट  शनिबार बिहान पक्राउ गरेको हो ।        सो विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।  

ललितपुर: बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ ।       मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।      रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो । “बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ”, उहाँले भन्नुभयो । 

म्याग्दी: जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।  न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो ।  रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको विसं २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।  जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शङ्कर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिनुभयो ।  रघुगङ्गा–७ चिमखोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मङ्गला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो ।  बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । सोह्र वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने छ ।  विसं २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।

रुपन्देही:   कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।   उमेर हदका कारण अवकाश पाउन तीन साता मात्रै बाँकी रहेका आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए ।   आचार्यलाई मङ्गलवार प्रहरीमा लिखित निवेदन नभएकाले छाडिए पनि बुधवार पुन: पक्राउ गरिएको हो ।   उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत आएर झगडा गरेपछि पाण्डेले मेयर छविलाल थारुलाई बोलाएकी थिइन् ।   मङ्गलवार पक्राउपछि उनलाई मेडिकल गरिएको र मदिरा सेवन गरेर कार्यालयमा गएको पाइएको प्रहरीले जनाएको थियो ।    

नेपालगञ्ज:  सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ।   सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।   कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए। विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् रु आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए।   सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे। “निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो। त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ”, उनले भने।   विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो। यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ।

काठमाडौं:  प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।      यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।