ललितपुर: बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो । “बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ”, उहाँले भन्नुभयो ।
म्याग्दी: जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो । रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको विसं २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शङ्कर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिनुभयो । रघुगङ्गा–७ चिमखोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मङ्गला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । सोह्र वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने छ । विसं २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।
रुपन्देही: कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उमेर हदका कारण अवकाश पाउन तीन साता मात्रै बाँकी रहेका आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई मङ्गलवार प्रहरीमा लिखित निवेदन नभएकाले छाडिए पनि बुधवार पुन: पक्राउ गरिएको हो । उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत आएर झगडा गरेपछि पाण्डेले मेयर छविलाल थारुलाई बोलाएकी थिइन् । मङ्गलवार पक्राउपछि उनलाई मेडिकल गरिएको र मदिरा सेवन गरेर कार्यालयमा गएको पाइएको प्रहरीले जनाएको थियो ।
नेपालगञ्ज: सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए। विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् रु आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए। सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे। “निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो। त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ”, उनले भने। विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो। यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ।
काठमाडौं: प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
रूपन्देही: रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो । कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका खड्का हाटीबनगाई ९दुर्गौलिया० प्रहरी चौकीका प्रमुख हुन् ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो । साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको रु १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडकखण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाका थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। बिहान ५:५५ बजे खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
पोखरा: पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोवार गरिरहेको अवस्थामा छोरेपाटनबाट युवतीसहित तीनजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । लागूऔषध कारोवार गरिरहेको अवस्थामा म्याग्दी घर भई पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ«े ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको प्रहरी निरीक्षक जिसीले बताए । प्रहरीले बरामद गरेको लागूऔषध र मोवाइल । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३सय ४० ग्राम, लागूऔषध बुप्रिनर्फिन १ सय ४४ एम्पुल, डाईजापाम १ सय ४३ एम्पुल, फेनरागन १ सय ४२ एम्पुल गरी ४ सय २९ एम्पुल लागूऔषध र ४ थान मोवाईलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।