काठमाडौं: अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमारसमेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको हाे । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
काठमाडौं: अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो । जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
पोखरा: नक्कली फेसबुक आईडी बनाएर विभिन्न प्रलोभन देखाई डिपेन्डेन्टमा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । डिपेन्डेन्टमा युके लैजान्छु भनेर ६लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभे्रपलान्चोक घर भएका २ जनालाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । फेसबुकमा नेहा गुरुङ नामको फेक आईडी बनाएर साथी बनाई विभिन्न कुराकानी तथा प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका ७ स्थायी घर भएका १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका ४ घर भएका २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धीमा मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन् । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत माघ महिनामा १ सय ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा दोषी ठहर भएका ति प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि कारागार चलानका लागि अदालतमा बुझाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर अविनाश दिप जिसीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा १ सय २५ जना पुरुष र २८ जना महिला रहेका छन् । पक्राउ पर्नेहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र नगद रु १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ जरिवाना असुल गर्नुपर्ने बताइएको छ । पक्राउ परेकाहरुमध्ये ९६ जना चेक अनादर मुद्धा, १४ जना लागू औषध सम्बन्धि मुद्दा, १८ जना बैंकिङ कसूर मुद्धा, ५ जना अभद्र व्यवहार मुद्दा, २ जना न्यूनस्तरको खाद्य उत्पादन विक्री गरेको सम्बन्धी मुद्धा, २ जना स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धि मुद्धा, १ जना सवारी ज्यान मुद्धा, १ जना कुटपिट मुद्धा, ४ जना जालसाझी मुद्धा, १ जना लेनदेन मुद्धा र ९ जना चोरी मुद्धामा दोषी ठहर भएका थिए ।
काठमाडौं: बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो । स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
तनहुँ: व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
सर्लाही: प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ। सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो। अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
लमजुङ: बेसीशहर नगरपालिका ८ सेराचोकस्थित सन्जु गुरूङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बस्ने ४१ वर्षीय अजित बस्नेतसहित ६ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।