सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

नेपालगञ्ज:     प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।   जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।  जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई ७ वर्ष २ महिना २० दिन कैद र रु ८ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फछर्यौट गरिएको जानकारी दिएको छ ।  ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फछर्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु ४६ हजार जरिवाना गराइएको छ ।   जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छभने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फछर्यौट गरिएको छ ।  १४ उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ  । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु २४ लाख ७१ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।   

काठमाडौं:    भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।      आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो ।  मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ ।  अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।      अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ ।      अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए ।  सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

पोखरा:   कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा प्रहरीले उमेश राईलाई पक्राउ गरेको छ ।  हिजो (बिहीबार) आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार भएका थिए ।  गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएको सूचनापछि खोजतलाजको क्रममा खोटाङ दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका राईलाई मादी गाउँपालिका–५ सुनपहेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  डिएसपी शर्माका अनुसार आगो लागेर घाइते भएका गुरुङको किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट घाइते भएको गुरुङको पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालबाट आज मणिपाल शिक्षण अस्पताल पठाएपनि थप उपचारको लागि काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ ।  गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा पक्राउ परेका राईको साथबाट प्रहरील ३ थान लाईटर, १ थान बोत्तल, ३ थान मोवाईल र १ थान लाईसेन्स बरामद गरेको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका राई पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।      

पोखरा:   कास्कीको मादी गाउँपालिका गाउँपालिका–७ मा भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मादी गाउँपालिका–७ लिचु भन्ने जंगलबाट एक नाले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘सोमबार कास्कीको मादी गाउँपालिका–७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा पड्किदा बिनोद सुनार घाइते भई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको सूचना पाएको थियौै’, डिएसपी शर्माले भने, ‘सोधपुछ गर्दा उक्त बन्दुक कुल प्रसाद वि.क र सुमन तामाङले राखेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान जारी छ ।’ डिएसपी शर्माका अनुसार सोधपुछ पछी बन्दुक खोजतलाज गर्ने क्रममा कुलप्रसाद विकको गाईगोठ भन्दा १ सय ५० मिटर तल लुकाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो एक नाले भरुवा बन्दुक बरामद  गरिएको हो ।  बरामद गरिएको हतियारको ईजाजतपत्र (कागजपत्र) नभएकाले मादी मेलबोट बस्ने ३२ वर्षीय साईला भन्ने कुल प्रसाद विक र पानीघाट बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”  प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:     काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत सात जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत नौ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।      उहाँका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ ।

कैलाली:     कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो ।  भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी,  विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५  भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् । 

काठमाडौं:   साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।   जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।   अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।   प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

काठमाडौँ:  नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।   उहाँले भन्नुभयो, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”