बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उहाँले भन्नुभयो, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।” शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन । पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
मोरङ: जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ । निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो ।
पोखरा: गएको मंसिर ५ गते पोखरा चिप्लेढुङ्गास्थित टे«डमल अगाडि पार्किङमा राखेको ग २३ प ९२०८ नम्बरको डुक (मोटरसाइकल) एकाएक हरायो । पार्किङमा राखेको मोटरसाइकल हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल खोजतलाज गर्दै जाँदा बिजय थापा नाम गरेको फेसबुक आईडीमा उक्त मोटसाइकलको पार्टपुर्जा निकालेर बिक्रीका लागि राखेको भेट्यो । मोटरसाइकलको पार्टपुर्जा बिक्रीका फेसबुकमा राखेका बिजय थापालाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लियो । अनुसन्धानको क्रममा थापाले ग २३ प ९२०८ नम्बरको डुक मोटसाइकलको पार्टपुर्जा आफ्नो ग १६ प १४ ६२ नम्बरको मोटरसाइकलमा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापाले केही पार्टपुर्जा आफ्नो मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाएर पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित कोठा भाडामा लिएर लुकाएर राखेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले १ गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आपाराधिक लाभ लिने उद्देश्यले योजना बनाइ मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भनि डर त्रास देखाई रु १८ लाखबाट बार्गेनिङ गर्दै रु आठ लाख दिए कुरा मिल्छ भनि रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।” दर्जीले समाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु प¥र्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को १ महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको प्रहरीको भनाइ छ । रु १८ लाखदेखि रकमको माग गरी रु आठ लाख दिने शर्तमा कुरा मिलाइ भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मङ्सिर ११ गते बिहान रु २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद रु १ हजारको १ थान र रु ५०० का ३९ थान गरी जम्मा रु २० हजार ५ सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दिपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान)मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
महोत्तरी: बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो । बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले आज जानकारी दिनुभयो । सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो । एम्बुलेन्सको जाँज गरिँदा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एकसहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक ९प्रनाउ० पोखरेलले बताउनुभयो । एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ । अहिले नियन्त्रणमा लिइएका २ जनाको परिचय प्रहरीले खुलाएको छैन । सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पु¥याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको क्रममा रहेका विषयको बारेमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै औपचारिक स्रोतका आधारमा सही सूचना सम्प्रेषण गर्न अनुरोध गरेको हो । ‘सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्र्तगत गोपनीयता कायम राख्नुपर्ने विषयहरुमासमेत केही सञ्चार माध्यममा अनुसन्धानको क्रममा रहेका विषयबस्तुहरुमा समाचार बनाउनका लागि यस जिल्ला प्रहरी कार्यालय कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोत विना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रुपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, ‘अपराध अनुसन्धान तथा कारवाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनु हुन जिल्ला प्रहरी कार्यालयको अनुरोध छ ।' गत मंगलबार कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं लगिने विषयबारे केही सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए । त्यसपछि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं पठाउनेबारे कुनै पनि तयारी नभएको पुष्टी गरेको थियो । लामिछानेविरुद्ध सहकारीको रकम हिनामिला, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की जिल्ला अदालतले उनलाई गत ९ गते पाँचौ पटक १५ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेर थप अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई रातारात कास्की ल्याइएको थियो । यो पनि पढ्नुहोस कास्की प्रहरी भन्छ: रविलाई काठमाडौं लाने तयारी छैन
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संरक्षित वन्यजन्तु घोरलको सिंङसहित युक्रेनका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युक्रेनका २१ वर्षीय पीलीप जील्को भीस्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको निलो झोलामा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला परेको थियो । पक्राउ परेका उनलाई पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम: रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद सकिएसँगै आज बिहानै अदालत पुर्याइएको हो । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्याइएको बताइएको छ । रविविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई रातारात पोखरा ल्याइएको थियो । त्यसयता उनी कास्की प्रहरीकै हिरासतमा छन् । बिहानै अदालत पुर्याइएका लामिछानेविरुद्ध अनुसन्धान बाँकी रहेकोले म्याद थप गर्न अनुमति माग्ने बताइएको छ । त्यसपछि भने, उनलाई काठमाडौँ लैजाने तयारी छ ।