पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ । आज उनलाई कास्की जिल्ला अदालत लगिएको थियो । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको तेस्रो पटक म्याद थप गरिएको हो । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुन: म्याद थपका लागि अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । यसैबीच उनका समर्थकले रिहाइको माग गर्दै आज पोखरामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् । आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो । उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने रूपन्देही प्रहरीको तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यो खबर कन्तिपुरमा घनश्याम गौतमले लेखेका छन् ।
दाङमा जुवा खेलिरहेका दस जना पक्राउ परेका छन्। आइतबार बिहान १ बजे तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टाबाट प्रहरीले जुवा खेलिरहेका दस जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका – १७ का ५७ वर्षीय भिम वली, ४९ वर्षीय लुमासिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् । त्यस्तै तुलसीपुर – १७ कै ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, घर धनी ५१ वर्षीय देवबहादुर वली र घोराही उपमहानगरपालिका– ९ अश्वाराका ४९ वर्षीय बालाराम वली पक्राउ परेका छन्। उनीहरुको साथवाट एक लाख ३३ हजार ११० रुपैयाँ बरामद भएको डिएसपी थापाले जानकारी दिए। स्थानीय देवबहादुर वलीको घरमा ठूलो धनराशी हारजित हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा डिएसपी थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरवाट खटिएको टोलीले मध्य राति छापा हानेको थियो।
झापा: मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताउनुभयो । अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो । “हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भन्नुभयो, “कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।” धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
जनकपुरधामबाट प्रहरीले २ सय २१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो । ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला रहेका छन् । कास्की प्रहरीका अनुसार पोखरा १२ परिवार नियोजनको कार्यालय अगाडी चेकजाँजको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) ४ सय ट्याब्लेट फेला पारेको थियो । त्यसपछि उनको घरमा खानतलासी गर्दा थप १ सय ६० चक्की लागुऔषध फेला पारेको थियो । यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ लेडा घर भई पोखरा १० हस्पिटलचोक बस्ने २४ वर्षीय सञ्जय चौधरीपनि लागुऔषधसहित पक्राउ परेका छन् । चौधरीको साथबाट ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) १ हजार ३ सय ट्याब्लेट बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।