म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
महोत्तरी: जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर रु ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिनुभएको थियो । सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं: अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले आज जानकारी दिएको हो । प्रहरीले उनीहरुका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक÷एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले मानव वेचविखन तथा ओसारपोसार गरेको आरोपमा चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेकसाइडस्थित होटल मिराकलबाट चिनियाँ नागरिकसहित ३ जनालाई हिजो (मंगलबार) पक्राउ गरेको हो । पोखरा १६ संगमटोल बस्ने २२ वर्षीय सरु वि.क, पोखरा २२ आर्वा बस्ने ३४ वर्षीय भगवती अधिकारी र चिनिया नागरिक झी मिङ चेनलाई मानव वेचविखन तथा ओसारपोसार मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपोसार मुद्धामा ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । घटना केःहो ? कास्की प्रहरीका अनुसार साउन १३ लमजुङको साबिक भोज स्थायी घर भई पोखरा १६ संगमटोल बस्ने सरु विक र पोखरा २२ आर्वा बस्ने अन्दाजी ३४ वर्षीय भगवती अधिकारीले १४ वर्षीय बालिकालाई अभिभावकलाई कुनै जानकारी नदिई चिनिया नागरिकसँग बिहे गर्न प्रस्ताव गर्छन् । ‘तिमी दुःख पाउने केटी रहेछौं, हामीहरुले चाईनिज नागरिकलाइ चिनेका छौं, तिमी उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ’ भन्दै बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई चिनियाँ नागरिकसँग आर्थिक लिएर उनीहरुले विवाह गरिदिन्छन् । चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि बालिकालाई लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएको कास्की प्रहरीले जनाएको छ । बालिकालाई वेचविखन गर्ने उद्धेश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटलमा बन्धक बनाएको भन्दै पीडित बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानको क्रममा चिनिया नागरिकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खोटाङ: सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् । सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो । जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ । रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौ वर्षअघि सामूहिक रुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको जनाइएको छ । फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष सुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा एक सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।
पोखरा: कास्की प्रहरीले धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही स्थानकै १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँको व्यास नगरपालिका ३ घर भई पोखरा ५ बस्ने१८ वर्षीय अनिश भट्ट रहेका छन् । उनीहरुको साथबाट घटनामा संलग्न ग ८ प ६९२४ नं को रातो रंगको डियो स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । बैदाम प्रहरीका अनुसार आइतबार राती करिब २ बजे पोखरा ६ लेकसाइडमा २० वर्षीया युवकलाई हतियार देखाएर ति व्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट लुटेर फरार भएका थिए । त्यसपछि सूचना पाएको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न भएका तिन जनालाई नै पक्राउ गरेको हो । उनीहरुले उक्त सुन गणेशटोलको सुनचाँदी पसलमा विक्री गरेका थिए । उक्त सुन किन्ने पोखरा महानगरपालिका ४ गणेशटोलस्थित विकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट १ लाख ३ हजार ५ सय रुपैयासमेत सुन विक्री गरेको रकम बराम गरिएको छ । पक्राउ परेका ५ जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि चोरी तथा डाँका सम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । (कास्की प्रहरीकाे स्रोत गलत भएकाले यसअघि लेकसाइडमा युवकको ठाउँमा युवती भएकाले सञ्चाइएको छ ।)
सुनसरी: गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ । राजस्व तथा जरिवानाबाट रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।
मोरङ: आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।