भक्तपुर: जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
डडेल्धुरा: डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो । अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् । “घटना निज टेकबहादुर भण्डारीको स्टेश्नरी पसलनै हो”, डिएसपी श्रेष्ठले भन्नुभयो, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।” स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् । बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ । “जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ । तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन”, उनले भने । किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिल गएकी थिइन् । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।
मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
घोराहीमा ५० किलो १५२ ग्राम लागू पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४, रुकुम पूर्वका ३७ वर्षीय सुबिन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिका, रुकुम पूर्व घर भई हाल घोराही–१८, मसिना बस्ने ४२ वर्षीया बिनी पुन रहेको उनले जानकारी दिए । घोराही उपमहानगरपालिका–१८ मसिनाबाट मंगलबार दिउँसो ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम जस्तो देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए । सुबिन्द्र र चेतन लागूऔषध अफिम बोकी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा डीएसपी ईश्वर थापाको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोलीले खानतलासी गर्दा दुई पोका लागूऔषध फेला पारेको थियो ।
तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो । सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
लेखनाथमा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका १ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १ बजे पोखरा २७ तालचोकस्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ । उनको फेवासिटी अस्पताल उपचार भइरहेको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिएको आरोपमा कार चालक गोरखा नगरपालिका(११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
लमजुङ: मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो । अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो ।
मकवानपुर: पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य (आजको मूल्यअनुसार) रु ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकारसम्मेलन मार्फत जानकारी गराएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ ।
काठमाडौं: प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौंको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेका साथबाट रु ११ लाख ४८ हजार पाँच सय नगदसमेत बरामद गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना र काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित त्रिपुरासुन्दरी होटल एण्ड लजबाट १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले उनीहरूका साथबाट ६२ थान कौडा, २६ थान मोबाइल र कौडा राख्ने भाडालगायत सामग्री बरामद गरेको छ ।