काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
काठमाडौं: काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत सात जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत नौ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ ।
कैलाली: कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।
काठमाडौं: साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । उहाँले भन्नुभयो, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”
बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उहाँले भन्नुभयो, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।” शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन । पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
मोरङ: जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ । निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो ।
पोखरा: गएको मंसिर ५ गते पोखरा चिप्लेढुङ्गास्थित टे«डमल अगाडि पार्किङमा राखेको ग २३ प ९२०८ नम्बरको डुक (मोटरसाइकल) एकाएक हरायो । पार्किङमा राखेको मोटरसाइकल हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल खोजतलाज गर्दै जाँदा बिजय थापा नाम गरेको फेसबुक आईडीमा उक्त मोटसाइकलको पार्टपुर्जा निकालेर बिक्रीका लागि राखेको भेट्यो । मोटरसाइकलको पार्टपुर्जा बिक्रीका फेसबुकमा राखेका बिजय थापालाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लियो । अनुसन्धानको क्रममा थापाले ग २३ प ९२०८ नम्बरको डुक मोटसाइकलको पार्टपुर्जा आफ्नो ग १६ प १४ ६२ नम्बरको मोटरसाइकलमा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापाले केही पार्टपुर्जा आफ्नो मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाएर पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित कोठा भाडामा लिएर लुकाएर राखेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले १ गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आपाराधिक लाभ लिने उद्देश्यले योजना बनाइ मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भनि डर त्रास देखाई रु १८ लाखबाट बार्गेनिङ गर्दै रु आठ लाख दिए कुरा मिल्छ भनि रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।” दर्जीले समाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु प¥र्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को १ महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको प्रहरीको भनाइ छ । रु १८ लाखदेखि रकमको माग गरी रु आठ लाख दिने शर्तमा कुरा मिलाइ भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मङ्सिर ११ गते बिहान रु २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद रु १ हजारको १ थान र रु ५०० का ३९ थान गरी जम्मा रु २० हजार ५ सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दिपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान)मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।