चितवन: चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको चितवन प्रहरीले बताएकाे छ । पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् । माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बागमती: हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित फेला परेका थिए । यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।
सिरहा: लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् । उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सुरज थापा र विनु थापामाथि सांघातिक आक्रमण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् । अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । ‘मुख्य यिनै हुन् बाँकी अरुको पनि खोजी भइरहेको छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ ।’ राइड सेयरिङलाई गण्डकी सरकारले वैधनिकता दिन लागेको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ । यो पनि पढ्नुहोस पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस् सोही घटनाको स्थलगत रिपोर्टिङमा जादैगर्दा ग २० प ३९७३ को स्कुटरमा सवार पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै पृथ्वीचोकमा सांघतिक आक्रमण भएको थियो ।
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । तानसेन नगरपालिका ६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेका थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा पार्किङ गरि राखेको ट्रकको डिजेल ट्याङ्कीबाट चोरी भएको डिजेलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी भएको डिजेलसहित १९ वर्षीय रोहित नेपाली र ४८ वर्षीय जिवन श्रेष्ठलाई पक्राउ गरेको हो । पस्र्याङमा पार्किङ गरि राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट मंगलबार बिहान करिव १ देखि ४ बजेको समयमा ६० लिटर डिजेल चोरी भएको थियो । डिजेल चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बगरको प्रहरीको टोलीले पोखरा–२ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेका नेपालीले ट्रकबाट चोरी गरेको ६० लिटर डिजेल पोखरा–दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि ४८ वर्षीय जीवन श्रेष्ठलाई ४ हजार रुपैयाँमा बिक्री गरेको खुलाएका थिए । प्रहरीले चोरी भएको डिजेल पोखरा–दमौली चल्ने बसबाट ३ वटा जारमा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । नेपाल आयल निगम लिमिटेडले जारी गरेको नयाँ मूल्य अनुसार चोरी भएको डिजेलको मूल्य ९ हजार ६ सय रुपैयाँ पर्छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा लामाचौरका २१ वर्षीय सुजित क्षेत्रीलाई हिजो (आइतबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ‘कास्की प्रहरीको सूचना अधिकारी हुँ,तपाईहरुको केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु, भन्दै ह्वाटएप र टेलिग्रामबाट सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई रकम माग गरेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’, डिएसपी शर्माले भने । पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि कास्की प्रहरीले जनाएको छ ।
भिमाद: तनहुँमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्बर नेपाली रहेका छन् । नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।