पोखरा: कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ । माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले जनाएको छ । यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।
पोखरा: स्कुटर चोरी गरेको आरोपमा प्रहरीले प्युठानका रेकम बुढाथोकीलाई प्रकाउ गरेको छ । पोखराको नयाँबजारबाट चोरी भएको स्कुटर सहित बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–९ नयाँबजारबाट जेठ २ गते ग १५ प २४७५ नम्बरको स्कुटर हराएको सूचनापछि खोजतलाज गर्दा फेला नपरेपछि अन्यत्र जिल्लामा समेत लैजान सक्ने हुँदा हुलियासहित खोजतलाजका लागि पठाउँदा प्युठानमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । स्कुटर हराएको सूचनापछि खोजतलाजको क्रममा प्युठान प्रहरीले स्कुटर सहित ३६वर्षीय बुढाथोकीलाई प्रकाउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो । जबरजस्ती करणी मुद्दामा उनी फरार थिए । नेपाली फरार भएर विदेश पुगेको पाएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।
काठमाडौँ: एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई नेपाली ५ लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो । साे घटनामा संलग्न घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी छ । पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाहसमेत गराएर बेचबिखन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ । आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई पीडित महिलालाई २०८० वैशाख १ गते चीनमा पुर्याएर आफू नेपाल फर्किएकी थिइन् । त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्यूरोले जनाएको छ । जबर्जस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरिएको थियो । खोजतलासका क्रममा ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी राखिएको छ ।
पोखरा: कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी चाउँथेबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा प्रयोजन खुल्ने कागजात साथमा नभएकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । सेती नदीको विभिन्न घाटको टेण्डर नखुल्दा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको छ ।
पोखरा: पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले पर्यटक तथा स्थानीयहरुलाई अनावश्यक रुपमा दुःख हैरानी दिएको आरोपमा आज ७ जनालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–९ स्थित लखनचोक (पृथ्वीचोक) बसपार्क एरियामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुल होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने तथा लागूऔषध पदार्थ सेवन गरी होेहल्ला गरी स्थानीयहरुलाई समेत दुःख हैरानी दिएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका ११ रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा ९ बस्ने २७ वर्षीय सन्दीप मिजार र पोखरा १४ बस्ने१८ वर्षीय नितेश लामा रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रामघाटबाट फक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजापाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल गरी कुल २६१ एम्पुल लागूऔषध र २ मोबाइल बरामद गरिएको छ । पक्राउ परेको उनीहरुविरुद्ध लागूऔषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका ७ रत्नचोकस्थित अर्जुन कुमार श्रेष्ठको घरबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कुमार श्रेष्ठसँगै सोही स्थानकै शिव बहादुर बिक, बसन्त केसी, बसन्त लामा, कृष्ण रावत र गोकर्ण श्रेष्ठ छन् । वडा प्रहरी वैदामलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद १५ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत थिए। घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ। पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु, जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए। घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको एसएसपी रजौरेको भनाइ छ। प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको उनले बताए। घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ। त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको बताए। प्रहरीले युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको उल्लेख गरेको छ। अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरू भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको एसएसपी वसन्त रजौरेले बताए। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शंकास्पद अवस्थामा फेला परेको थियो।