चितवन:   मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ ।  पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरक...

नवलपरासी:  नवपलुरमा नक्कली नोट बनाउने सामानससहित दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–६ ठिमुरेका ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन्  ।     उनीहरुलाई बर्दघाट नगरपालिका–४ फलफुलचोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामान बरामद गरेको छ ।   सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।   काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।   लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

लमजुङ:   लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् ।   उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए ।    गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो ।    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए ।    प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन्  । पोखरा महानगरपालिका ३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार रविन्द्रको साथबाट १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।  कास्कीको वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट कुकुर सहित चेकिङमा खटिएको प्रहरीको टोलीले धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङ घर भएका २२ थिङलाई लागूऔषधसहित पोखरामा प्रकाउ गरेको हो ।  प्रहरीले प्रकाउ परेका थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका थिङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।   आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए।   जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए।   हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।  

सल्यान:  घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।   सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने शर्मिला बुढाथोकीलाई आफनै सासुको हत्या आरोपमा पक्राउ गरिएको हो ।     गणेसी गत असोज १५ गते दिउँसोदेखि बेपत्ता थिइन् । बेपत्ता भएपछि सासुको खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो ।   घटनाका सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।    उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसी हत्या गरेको बताइएको छ । घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:  काठमाडौंमा एक युवकको हत्या आरोपमा २ युवक र २ युवती पक्राउ परेका छन् ।   ति समूहले काठमाडौं–२४ हनुमानढोका परिसरमा काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीलाई सोमबार धारिलो हतियार प्रहार गरेका थिए ।    त्यसपछि घाइते भएका कार्कीलाई  उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा पुर्याइएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको थियो ।    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका–५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।    अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका–२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।    उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।   

काठमाडौं:    प्रहरीले गौशाला घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ। सोमबार बिहान गौशालामा धारिलो हतियार प्रहार गरी साविर हुसेनलाई घाइते बनाएर फरार भएका अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो।  सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका-२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। घटनापछि फरार रहेका रौतहटको वानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनीलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता पाइएपछि मंगलबार सार्वजनिक गरेको थियो।  घटनास्थलमा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु फेला परेको थियो। सहनीले घटनापछि कोटेश्वरबाट गौर जानका लागि टिकटसमेत काटिसकेको पाइएको छ।

विराटनगर: धर्मगुरु भनिएका आचार्य श्रीनिवास पक्राउ परेका छन् ।   विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।   उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए ।   गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो ।   उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’   आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ ।    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए ।   श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।