दोलखा: दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो। गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए। (भीष्म भण्डारी) गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो। विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए। दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ। त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
पोखरा: कास्की प्रहरीले विवाह समारोहबाट चोरी भएको झोलासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । उनलाई प्रहरी टोलीले चोरी भएको केही समयमै पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ । नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी भएको थियो । त्यसपछि प्रहरीलाई जानकारी गरेपछि ति श्रेष्ठलाई नारायणथानबाट केही समयमै पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद भएको छ । श्रेष्ठविरुद्ध चोरी सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराम महानगरपालिका–२९ भण्डारढिकमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले भण्डारढिकस्थित गीता पुनको घरमा जुवातास खेलिरहेका ८ जुवाडेलाई ३ बुक ताससहित ५७ हजार १ सय ९५ रुपैयाँसहित हिजो (बुधबार) प्रकाउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दलबहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, भण्डारढिक बस्ने ३६ वर्षीय सितादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६वर्षीय भुपाल गुरुङ, ४८ वर्षीय दुर्गा गुरुङ, पोखरा–२९ सैनिकबस्ती बस्ने ३३ वर्षीय शान्तामल्ल ठकुरी र पोखरा–३१ मोहरिया टोल बस्ने ३७ वर्षीय जिवन शाहीलाई प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी गत महिना नेपाल फर्किए । करिब ४ वर्ष कतारमा मजदुरी गर्दापनि ऋण तिर्नसमेत पैसा जोहो नभएपछि उनले योजना बुने ‘बिग मनी हेबी टार्गेट’ । कास्की प्रहरीका अनुसार उनले कुश्मा नगरपालिका १४ का ४२ वर्षीय दीपक बहादुर क्षेत्रीलाई रुम पार्टरमात्रै बनाएनन् । आफ्नो सारथी बनाएरै व्यापारीदेखि नेतासम्मको बाँकी योजनाको फ्रेम तयार पारे । ति दुईको योजना अनुसार पोखराका व्यपारीदेखि उच्च तहका नेताहरुको नामसहितको योजना लिस्ट तयार भयो । उनीहरुको पहिलो टार्गेटमा पोखरा–१६ लामाचौर घर भई दीपमा सच्चाई सेवा केन्द्र सञ्चालन गर्दै आएका सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रकाशदिप गैरे परे । गैरेलाई गत १८ गते म्यासेजको घण्टी बज्यो । जहाँ परिवारको ज्यान लिने धम्कीसहित ५ करोड रुपैयाँ फिरौती मागिएको थियो त्यसपछि दर्जी र क्षेत्री सच्चाईको भक्तका रुपमा २ पटक गैरेको प्रवचन सुन्ने बहानामा सच्चाई केन्द्रमा माहौल बुझ्न पुगेको प्रहरीलाई प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले बताए । आज (बिहीबार) उनै दुई जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । ज्यान मार्ने धम्की दिएर ५ करोड रुपैयाँ फिरौती दर्जी र क्षेत्रीलाई गएराति पोखराबाटै प्रकाउ गरेको हो । एपसी थापाका अनुसार १ महिना अघि नेपाल फर्केका दर्जी र क्षेत्रीले सिमलचौरमा कोठा भाडा लिएर बसेका थिए । यसअघि दर्जीको कुनै पनि मुद्धा नदेखिएपनि ४२ वर्षीय दीपककुमार क्षेत्रीको भने हातहतियार तथा खरखजना र अभद्र व्यवहारसम्बन्धि २ वटा मुद्धा दायर भएको थियो । क्षेत्रीको यो भन्दा पहिलेपनि दुइवटा मुद्धा देखिएको छ । अझ विस्तृतमा अनुसन्धान गर्दैछौ’, एसपी थापाले भने । टार्गेटमा व्यापारीदेखि नेतासम्म एसपी थापाका अनुसार दुइजनाले तयार पारेको ८ पेजको कागजमा व्यापारी, एनआरएनएदेखि नेतासम्मका व्यक्तिहरुको नाम लेखिएको भेटिएको छ । उनीहरुले तयार पारेको सो लिस्टमा पारिवारिक विवरणसम्म उल्लेख गरिएको एसपी थापाले बताए । ‘पोखरा–८ सिमौलचौरस्थित डेरामा बस्दै उनीहरुको कोठाबाट विभिन्न सामानहरु फेला पारेका छौं, उनले भने, ‘बरामद भएका सामानमध्ये ८ पेज लामो कागज पनि छ । जहाँ विभिन्न परिवारको नामहरु उल्लेख गरेको भेटाएका छौं जसमा नेता, व्यापारीदेखि एनआरएनसम्मको नामसमेत उल्लेख गरिएको छ ।’ त्यसबारेपनि कास्की प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गर्ने उनले बताए । के के बरामद भए ? कास्की प्रहरीले ति दुइजनाको डेराबाट योजना बुनेको ८ पेज कागजको पाना बरामद गरेको छ । जहाँ लेखिएको छ, ‘बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनि, गणतन्त्र राजतन्त्र धर्म निरपेक्षता हिन्दु राष्ट्र, नेता, व्यापारी गुण्डा, भु–माफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लगायतका योजना कोरिएका छन् । यस्तै उनीहरुको साथबाट ३ थान विभिन्न किताब, नोट बुक १ थान, मोबाईल सेट ४ थान, भारतीय सिम १ थान, एनसेलको सिम ३ थान, खुकुरी १ थान, अवैध गाँजा ५ सय ७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान, फलामको हेक्सा ब्लेड १ थान, रन्डा लगाउने मेसिन १ थान र पेन्चिस १ थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धि, अवैध हातहतियार तथा खरखजना, आपराधिक लाभ फिरौती रकम (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइने कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरेको छ । ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका २ जनालाई कास्की प्रहरीले आज(बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लेनदेन मुद्धामा फरार रहेकी दीपा लामिछानेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लामिछानेलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८०÷१०÷५ गते बिगो लेनदेन मुद्धामा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ४४ वर्षीय दीपा लामिछानेलाई १ वर्ष कैद सजाय तोकेको थियो ।
गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाले छिमेकीको ढुंगा हानेर हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे सोही स्थानकै ४७ वर्षीय इन्द्र बहादुर बिकलाई ढुंगा प्रहार गरी हत्या गरी फरार थिए । त्यसपछि खोजी गर्ने क्रममा सोही राती गोरखा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो । अहिले नेपालीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रहरीले विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले, मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु पक्राउ परेका थिए । उनीहरुलाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पावरहाउसबाट २ जना युवालाई लागूऔषधसहित प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले शनिबार पोखरा ३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा २ जना युवालाई प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० खुदी बस्ने २२ वर्षीय पुकार छतकुल्ली र पोखरा–१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।