दाङ: श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र सा९ दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही: सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका–२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका(७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र ०२–०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र ०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी अजय जिसीलाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषध मुद्धामा फरार रहेका जिसीलाई हिजो (बुधबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८० जेठ १९ गते जिसीलाई लागूऔषध डाईजेपाम समेतको मुद्धामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतको फैसला अनुसार जिसीले २ महिना १५ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र १ लाख ४ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रही फरार प्रतिवादीको सुचीमा रहेपछि पोखरा–१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: लेकसाइडमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले लेकसाइड हल्लनचोकमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा हिजो (मंगलबार) प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित हल्लनचोकमा पर्यटकहरुलाई बाटो छेक्ने, झोला तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्य गरेको सूचनाको आधारमा ६ जनालाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ परेका हुन् । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: हेम्जाबाट लमजुङको बेशीशहर जान हिडेकी गोमा बिक पृथ्वीचोकमा दिउँदै लुटिएकी छिन् । उनको साथमा रहेको ७ हजार रुपैयाँ र घाटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री चोरी अज्ञात २ युवकले लुटेका हुन् । आज बिहान लमजुङको बेशीशहर जान पोखरा बसपार्कमा बसको काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बताइन् ‘हेम्जाबाट पोखरा बसपार्क आएपछि लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै थिए, लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा मेरो पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भने’, गोमाले सुनगाभा न्यूजसँग भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’ उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् । ‘काउन्टर भित्र छ भनेपछि बाटोमै जेब्रा राखेर आए, उनीहरु पनि मसँगै आए, घाटीमा लगाएको सिक्री ताने । किन मेरो सिक्री तानेको भनेर कराए रुमालमा पोको पारेर उनीहरुले सुनको सिक्री दिए होला भनेको त त्यहाँ ढुङ्गा रहेछ । पछि मात्र थाहा पाए', उनले भनिन् । पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला कोल्चोकबाट प्रहरीले २ जना एक केजी ३० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीको टोलीले कोल्चोकबाट दुईजनालाई हिजो (आइतबार) लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–१७ घारेपाटन बस्ने ३४ वर्षीय कुमार सुनार र २८ वर्षीय सन्तोष सुनारलाई कोल्चोकबाट गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेका छन् । प्रकाशविरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।
काठमाडौं: हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई रहेका छन् । युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानकै क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए । उनलाई आवश्यक कारबाहीका लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए । तत्कालीन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले बताए ।