पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखरा:   केही काला, केही सेता–काला र केही टाटेपाटे च्याङ्ग्राहरु सडक छेउ कुनामा कुदिरहेका छन् । उनीहरुले गन्तव्य चुम्नै लागेका छन् । त्यसैले उनीहरु कुद्न अब धेरै पाउदैनन् ।   हिमालपारीका जिल्ला मुस्ताङ तथा बझाङ आसपासको जिल्लाबाट झारिएका भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी पुल आसपासमा हैकम जमाएका छन् ।    उनीहरुको अन्तिम गन्तव्य जौबारी हुदैं पोखराको पुरानो टुडिखेलसम्म हो । गन्तव्य नजिक आइपुगेका ति बथानले बाटो बिराइहाले भने ठेगान लगाउन एउटा समुहमा ३/४ जना गोठाला छन् ।    च्याङ्ग्राहरु सडकबाट दायाँ बाँया गर्ने बित्तिकै गोठालाहरु चनाखो भइहाल्छन् र लाइनमा ल्याइहाल्छन् । च्याङ्ग्रा अघिअघि कुद्छन् । अनि उनीहरु पछिपछि ।    लय गुमाएर एकातिर भाग्ने च्याङ्गालाई तह लाउनेमा ति गोठालाका हुलमा अरु कोही नभएर वडाध्यक्ष सुरेन्द्र गुरुङ छन् ।   उनी गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । वडाध्यक्ष गुरुङ यसरी च्याङ्ग्राको पछि कुद्न थालेको पाँच दिन बितिसकेछ ।  ‘मुस्ताङबाट भेगखोलासम्म हामीले तीन लाएर धपाएरै ल्यायौं । त्यसपछि हेम्जासम्म ट्रकमा ल्यायौं र फेरि धापाउदै यहाँसम्म आइपुगेका छौं, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले भने, ‘च्याङ्ग्राको पछिपछि कुद्न थालेको ५ दिन भैसकेछ ।’   उनले पोखरासम्म ल्याउँदा विभिन्न समस्याहरुको सामना गरेको बताउदै मुल्य वृद्धि भएको बताए । ‘हामीले माथी खरिद गर्दा नै महंगो पर्न गयो त्यसले गर्दा पोखरेलीहरुलाई महंगो परेको हो, उनले भने, ‘के गर्ने चाइना बोर्डर खुलेको भए किन्नेहरुलाई पनि अलि सस्तो पर्न जान्थ्यो ।’   उनले गत वर्षभन्दा यसपटक पोखरामा कम भेडा च्याङ्ग्रा भित्रिएको बताए । उनका अनुसार गत वर्ष भेडा र च्याङ्ग्रा गरि १२ हजार बढी झरेको थियो । भने यस वर्ष भेडा र च्याङ्ग्रागरि करिब साढे ६ हजार पोखरा भित्रिएको छ ।  सो भेडा तथा च्याङ्ग्राहरु खोज्न पोखरेली मात्रै हैन, तनहुँ, चितवन, स्याङ्जा, बुटवल तथा काठमाडौं लगायतका स्थानदेखि आइपुग्छन् ।      तुलनात्मक रुपमा गतवर्षभन्दा केही मात्रामा मुल्य वृद्धि भएपनि च्याङ्ग्राको निर्वाध विक्री भइरहेको वडाध्यक्ष गुरुङ बताए । ‘मैले ५ सय वटा खरिद गरेको थिए । त्यसमध्ये २ सय वटा काठमाडौं गइसक्यो, उनले भने, अब यस्तै ४०/५० वटा छ त्यो पनि आज भोली मै सकिन्छ । महंगो भएपनि च्याङ्ग्रा त खोसाखोस छनी ।’    गुरुङले आफ्नो वडाध्यक्षको सेवासुविधाले मात्रै  दैनिकी गुजार्न गाह्रो भएको बताउदै च्याङ्ग्रा विक्री गर्न पोखरा झरेको बताए । ‘मेरो तलबले त के नै पो हुन्छ र यो व्यवसाय सिजनल हो । दशैँमा मात्रै हुने गर्छ । त्यसैले अहिले च्याङ्ग्रा बेच्न पोखरा आएको हुँ ।’ उनले भने ।     भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मुल्य साइज अनुसार  निर्धारण गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार च्याङ्ग्राको मूल्य ३५ देखि ५० हजारसम्म निर्धारण गरिएको छ । ‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा –च्याङ्ग्राको मूल्य बढ्नु ग्राहकका लागि नौलो छैन । यो महंगाईलाई मैले स्वभाविक रुपमा लिएको छु, च्याङ्ग्रा किन्न आएका पोखरा महानगरपालिका २१ का धुर्वराज पराजुलीले भने, ‘किनभने वर्तमान समयको आर्थिक अवस्था, लगानी र व्यापारीको खरिदबारे हिसाब गर्दा स्वभाविक नै मान्नुपर्छ । हुनत हामीले खान थालेको यतिका वर्ष भइसक्यो मूल्य केहीमा घटेको छैन । तर आनुपातिक रुपमा अलि नै बढेको हो की भन्ने लागेको छ ।’   पराजुली जस्तै पोखरा १९ लामाचौरका तारा गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद  लिने गर्छन ।     दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’   बद्लिदो समय र मूल्य   याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ ।   त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ । त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याग्रा बेच्थेउ ।’     उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’   १ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र  च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ । शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)    

लमजुङ  :  यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।   यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएकाले उहाँले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाउनुभयो । अहिले उहाँले दैनिक रु १० देखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ ।    त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उहाँको भनाइ छ । उहाँहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् ।   पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उहाँको भनाइ छ ।    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ को हालसम्म सात हजार दुई सय १३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला चार हजार आठ सय ३४ र पुरुष दुई हजार तीन सय ७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका सात सय ७१, जर्मनीका सात सय छ, बेलायतका  पाँच सय ७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यहाँ आएका छन् ।    त्यस्तै सन् २०२१ मा यस पदमार्गमा दुई हजार तीन सय ७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार  सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जनाएको छ ।    पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।    अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् ।   

सल्यान :  सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।   बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका(३ मुलपानीमा दुर्घटना भएको हो ।   जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन ।   दुर्घटनामा  सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ ।   जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।   दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।

  पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ग्रामिण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहरुबाट स्थापित कोषबाट जनही ८/८ हजार छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक १५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो भने यस पश्चात देशैभरमा छनौट भएका अन्य तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ। प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष  हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरेकी आकृति तमु लगायतले प्रतिष्ठान, छात्रवृत्ति वितरण र शिक्षाका विविध पक्षमा मन्तव्य व्यक्तगर्नुभएको थियो। उक्त कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि दश जोड दुई उतिर्ण गरेका विद्याथीृहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो भने उक्त कार्यक्रमको संचालन समितिकी सचिव रेनु गुरुङले गर्नुभएको थियो। छात्रवृत्ति वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता, स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सचिव कञ्चन गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रम पश्चात तमु विद्यार्थीहरुलाई उच्च शिक्षा लगायत निजामति सेवाका बारेमा तेजबहादुर चाक्ली तमु, कञ्चन गुरुङले अभिमुखिकरण गराउनु भएको थियो।

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्की अगाडी स्वतन्त्र नर्सहरुले धर्ना दिएका छन् । मंगलबार सरकारसँग विभिन्न माग राख्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।   शान्तिपूर्ण प्रर्दशनका क्रममा उनीहरुले विभिन्न मागसहित सरकारलाई प्लेकार्डमार्फत प्रश्न तेर्साएका थिए ।    उनीहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो– ‘नर्स हुनुमा गर्व गर्नुकी पश्चाताप?, नर्सहरुलाई न्याय देउ सरकार, विदेश रहर कि बाध्यता?, सेभ नर्स सेभ लाइफ, हामी नर्सका लागि नर्स हाम्रा लागि, सरकार किन मौन छ?, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभुति गर, काम धेरै तलब थोरै न्याय खै?   हेरौं तस्बिरहरु:-                                 

  पोखरा । चलचित्र “बाबरी” टीमले पोखरा आएर पत्रकारसँग भेटघाट गरेको छ । असोज १४ गते शुक्रबारबाट सार्वजनिक हुन लागेको चलचित्र “बाबरी” का कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नटकरले पोखरा आएर पत्रकारसँग भेटघाट गरेका हुन् । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा उनीहरुले पोखराबाट आफुले मुटुभरीको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् ।   चलचित्रकी मुख्य पात्र अदिती बुढाथोकीले आफु बाबरीको प्रेमीकाको रुपमा प्रस्तुत भएको बताएकी छिन् । केटाहरुसँग नडराउने तर प्रेमील भूमिका उनको छ । आफ्नो दोस्रो चलचित्र भएको उल्लेख गर्दै अदितीले बाबरीबाट धेरै अपेक्षा राखेकी छिन् । “बाबरी मेरा लागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’, उनले भनिन् ।   उसो त अदिती भारत बस्दै आएकी छिन् । भारतीय केही म्युजिक भिडियोहरुमा समेत उनको अभिनयलाई देख्न सकिन्छ । अदितीलाई नेपाली चलचित्र उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाई उनको छ । बाबरी एक प्रेमील कथा भएकाले र आफुलाई मन परेकाले अनुबन्धित भएको उनले बताइन् ।   यसअघि “इन्टुमिन्टु लण्डनमा” चलचित्रमा अभिनय गरेका धिरज मगर पनि बाबरीबाट आशावादी देखिन्छन् । आफ्नो पहिलो चलचित्रमा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको भनाई उनको छ । बाबरीमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर उनको छ । भन्छन्,“करिब तीन वर्ष पछि बाबरी मार्फत पर्दामा आएको छु । पहिलो चलचित्रमा मेरो अभिनयलाई जसरी दर्शकले मन पराउनुभएको थियो, बाबरीमा समेत मन पराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’, उनले भने । बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा भएको उनले बताए ।   बाबरी मार्फत डेब्यु गरेका कलाकार हुन् धिरज नटकर । लामो समय भारतमा बसेका धिरजलाई नेपाली भाषा बोल्न समस्या छ । तर पनि उनले कोसिस गरेका छन् । जसलाई बाबरीको ट्रेलरमा देख्न सकिन्छ । उनी आफै पनि नेपाली भाषा सिक्दै गरेको बताउँछन् । नटकर बाबरीबाट आशावादी छन् । भन्छन्, “चलचित्र बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । लवजमा केही समस्या अवश्य छ । जसलाई सुधार्दै लैजाने प्रयत्न रहनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।” बाबरीमा उनी प्रेमील भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगर सँग हुन्छ ।   पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरबीन वान्तवा राई बाबरी चलचित्र सफल हुनेमा विश्वस्त छन् । हर प्रेमी प्रेमीकाको कथा भएकाले पनि दर्शकले मायालु तवरले चलचित्रलाई हेर्ने भनाई उनको छ । उनले चलचित्र हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन हुने बताए ।   मोरङको लेताङ्ग, भारतको सिक्किम र काठमाडौंमा छायाँकन गरिएको बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट, कमलमनि नेपाल, उर्मिला बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्माताहरु गणेश बुढाथोकी, पुष्पा लता बुढाथोकीको लगानी छ । काली प्रसाद बासकोटा, सुजन चापागाई, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

कास्की  :  ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई ।’ दशैं जति नजिकिँदै जान्छ, उति नै यो पुरानो आहान सुुन्ने गरिन्छ ।    दशैं धेरैकालागि खानपिन, हर्षाेल्लासको चाड भएपनि भुुइँमान्छेकालागि भने दशा हुने गरेको छ । रिन खोजेर दशैं मनाउने र बाँकी महिना तिर्दै जाने परिपाटी अहिले पनि यथावत छ ।    यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए म्याग्दीका मनोज परियार । उमेरले ३ दशकका मनोजसँग यतिबेला मुस्ताङ्को स्याउसँगै दशैंको पनि भारी छ । दशैंको भारी पन्छाउन पहिले स्याउको भारी पन्छाउनुु पर्नेछ ।    स्याउको भारी घटाएर आउने नाफाबाट परिवारको ४ जनालाई ‘दशैं’ लैजानु छ । ‘म गएपछि बल्ल दशैं पुुग्छ घरमा’ मनोज भन्छन् ‘स्याउको भारी नघटे दशैंमा दुखको भारी पनि घट्ने छैन ।’   पोखरामा भिडभाड देख्दा दशैं आए जस्तो लाग्छ तर दिनमा डोकोमा भएको स्याउ विक्री हुँदा मेरो पनि दशैं आउने भयो भनेर खुसी लाग्छ । मुस्काउँदै उनले भने ।    ‘स्याउँको सिजन अनुसार म एक महिना पहिले दशैं ल्याउन स्याउको साथमा पोखरा आए’ उनले भने ‘दिनमा ८ देखि ९ हजारको व्यापार भएको छ, बेलुका हिसाब गर्दा केही फाइदा भएको रकम साथमा हुँदा नजिकनजिक दशैं आए जस्तै लाग्छ ।’   पोखराको विपी चोकको गल्लीमा उमेरले ७ दशक पुग्न लागेका तनहुँका तिलकबहादुर  विश्वकर्मा एक डोको स्याउ, ३ काइयो केरा र केही केजी डल्ले खुर्सानी बिक्री गर्दै भेटिए ।    ‘दशै आयो भन्छन् मलाई दशा आए जस्तो लाग्छ, बस्नलाई घर छैन, छोराछोरी साथमा छैनन्’ उनले भने ‘छोरीहरुको विवाह भयो छोराहरु कमाउन भारत गएका छन् । बिरामी श्रीमतीको उपचार खर्चको लागि स्याउ बिक्री गर्दै छु ।’ औषधी किनेर बचेको पैसाले दशैको दिन एक पाउ मासु किनेर खुवाउने बाहेकको अन्य तयारी केही नभएको उनले सुनाए ।   पोखरामा ४ दशक बिताएका तिलकबहादुरले थपे, ‘सिद्धार्थ चोकमा भाडाको घरमा हरेक वर्षजस्तै, बिरामी श्रीमतिसँग औषधी उपचार गरेर बचत भएको रकमले दशैं मनाउने गरेका छौं ।’    यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए काभ्रेका सिताराम रोका । महेन्द्रपुल नजिक  छाताको ओझेलमा जुत्ता सिलाइरहेका सितारामले दिनभर गरेको कमाइले दशैंको जोहो गर्ने सुनाए ।    ‘पानी नपरे काम हुन्छ पानी परे हुदैन् ’ आइतबार मध्यान्हको चर्काे घाममा छाताको ओझेलमा जुत्ता सिलाउँदै सिताराम भन्छन् ‘हिजोआज कमाई राम्रै भएको छ । परिवारसँगको दशैं रमाइलो बनाउन केही दिनमा काभ्रे फर्किदै छु ।’    

काठमाडौं :   मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।   ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए ।   चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो ।   पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराब भएकाले सोमबार उद्धार गर्न सकिएको थिएन ।

बागलुङ  : व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।   बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताउनुभयो । “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उहाँले भन्नुभयो, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।”   उहाँका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।   सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाउनुभयो । “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ४० हजार जति पर्‍यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उहाँले भन्नुभयो, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।”    कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ ।   मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताउनुभयो । “च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन”, उहाँले भन्नुभयो, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।”   बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । “बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भन्नुभयो, “तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।” उहाँका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ ।   सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आउनुभएका केसीले दशैँमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताउनुभयो । अहिले च्याङ्ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उहाँको भनाइ छ । हुनेखानेले महँगै परे पनि दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन् ।   कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन ।    पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्ग्रामा रु एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दशैँ नै कुनुपर्छ ।