काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभएको छ । नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउनुभएको छ । साथै उहाँले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गर्नुभएको छ । असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ । दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको उहाँले बताउनुभएको छ । “बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । दशैंलगत्तै तिहार, नेपाल संवत्, छठ र ल्होसार जस्ता अरू महत्वपूर्ण सांस्कृतिक, धार्मिक पर्वहरू पनि मनाइने क्रममा छन् । उहाँले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ । लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।
काठमाडौँ : विजयादशमीको उत्तम साइत भोलि (असोज १९ गते) बुधबार बिहान ११: ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।
उदयपुर ः गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ«्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
पोखराः आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मनसुनी वायुको प्रभावका कारण आज दिउँसोदेखि पानी पर्ने क्रम बढ्दै जाने र राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा प्रदेश १, मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै भोलि दसैंको टीकाको दिन दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै यात्रा गर्दा तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
एजेन्सीः भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच)को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रियस्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले उक्त हेलिकोप्टरको भिडियो र फोटो फेसबुकमा सेयर गर्दै गरेका छन् । भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बनाउने चर्चा पहिलो पटक सन् १९९९ को कारगिल युद्धपछि सुरु भएको थियो, जतिबेला भारतीय सेनाले उच्च क्षेत्रका दुर्गम क्षेत्रमा एक हलुका लडाकु हेलिकोप्टरको महसुस गरेको थियो । यस्ता छन् विशेषता यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड ९एचएएल०ले गरेको हो । यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ । भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ । प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट)को उचाइसम्म उडान भर्न सक्छ । यो हेलिकोप्टरलाई हरेक मौसममा २४ सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिन्छ । उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिन्छ । यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
नवलपुर : दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । “दशैं तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भन्नुभयो, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।” गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उहाँले अनुरोध गर्नुभयो । “पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।” दशैंको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । “हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैंको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “पहिले दशैं आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।” गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताउनुभयो । पछिल्ला आठ÷दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैंको रमाइलो पनि हराएकोजस्तै भइरहेको उहाँको भनाइ छ । गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताउनुभयो । बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले विगतका वर्षहरुमा आफ्नो गाउँम पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताउनुभयो । “पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।” पिङ निर्माणमा युवाहरुको सहभागिता आवश्यक भए पनि युवा नभेटिँदा पिङ बनाउन कठिन भएको उहाँले बताउनुभयो । “कोरोना कालभन्दा अघिसम्म हामी युवाहरु गाउँमा भेला भएर प्रत्येक घरघरबाट बाबियो तथा सुनपाट सङ्कलन गरेर पिङको लठ्ठा बाट्ने गर्दथ्यौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिनसम्म सबै तयारी सकेर पिङ ठड्याएर खेल्न सुरु हुन्थ्यो ।” दशैंमा हालिएको पिङ हरिबोधनी एकादशीपछि मात्रै निकाल्ने गरिएको उहाँले स्मरण गर्नुभयो । विदेश गएका युवा दशैँँमा घर फर्किने क्रम न्यून हुने तथा अध्ययनका लागि जिल्ला बाहिर रहेका युवा ढिला गरी घर फर्किने गर्दा गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “हामीले अझै पनि पिङ निर्माण गर्ने तयारी भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक स्रोत र साधन जुट्यो भने अष्टमीको साँझसम्म गाउँमा पिङ तयार हुन्छ ।” पिङ निर्माण भएपछि मात्रै दशैँँ आएको जस्तो लाग्ने स्थानीय बताउँछन् । पिङ निर्माणका लागि आवश्यक पर्ने बाँसको लिङ्गो पाउनै कठिन हुन थालेपछि पिङ बनाउने उत्साह हराएको मध्यविन्दु–३ का शिखाराम थनेतले बताउनुभयो । “पहिले पिङ हाल्ने भनेपछि हामीले अनुमति लिएर नारायणी पारी निकुञ्जको पहाडमा पुगेर बाबियो काटेर ल्याउने गरेका थियौँ”,उहाँले भन्नुभयो, “बाबियो काट्न नजाने गाउँमा बाँसको लिङ्गो खोज्न हिँड्ने गर्दथे ।” सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेका अहिलेका युवा पुस्ताले पिङ निर्माणमा चासो नदिँदा आफूहरुको संस्कृति नै हराउने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले हाम्रा पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । अहिलेका युवापुस्ताले पिङप्रति त्यति चासो दिँदैनन् । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने संस्कृति लोप हुँदै गएका हुन् ।
बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका-६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल रहेका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिनुभयो । गोकुलेश्वरबाट देहिमाडाँैतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो । महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवति मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तिब्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।
तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ । दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । दशैँको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिनुभयो । “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौँ”, उहाँले भन्नुभयो, “दशैँमा पनि काम रोकिँदैन ।” दशैँको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उहाँले बताउनुभयो । “न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ”, सिल्पकारले भन्नुभयो, “आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौँ ।” यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख सिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर सम्पन्न भएको छ । त्यस्तै हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

