पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

काठमाडौं  :  “दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ ।” यो भनाइ हो, काठमाडौँ विश्वविद्यालयका उपकूलपति भोला थापाको ।    काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनको प्राज्ञिक अध्यापनसमेत सुरु गरेको छ । नेपालमा ऊर्जाको वैकल्पिक स्रोतका रुपमा ग्रीन हाइड्रोजन पनि एउटा उत्तम किवल्प हुनसक्छ भन्ने मान्यता नीति निर्माणको तहले बल्ल अनुभूत गरेको बताउनुहुन्छ, उपकूलपति थापा ।     काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगमजस्ता निकायसँग सहकार्य गरिरहेको छ । नेपालमा जलविद्युत्को प्रचूर सम्भाव्यता रहेकै सन्दर्भमा अब ‘हाइड्रोबाट हाइड्रोजन’ को नयाँ यात्रा प्रारम्भ भएको छ । यसै सन्दर्भमा नीति निर्मातालाई जानकारी गराउने लक्ष्यका साथ आजदेखि यहाँ ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सुरु भएको छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो समिटको आज यहाँ उद्घाटन गर्नुभयो । ऊर्जाको आगामी भविष्यका रुपमा विश्वले प्राथमिकतामा राखेको हरित हाइड्रोजनसम्बन्धी हुन लागेको यो सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको उहाँले उल्लेख गर्नुभयो ।    हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ । विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण सुरु गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले प्रविधिको अनुसन्धान र अन्वेषण गर्ने, खपतको क्षेत्र निर्धारण गरी त्यसलाई अन्वेषण र विस्तार गर्ने कार्यमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।   सम्मेलनले नेपाललाई हरित हाइड्रोजन ऊर्जाका सम्बन्धमा विश्वमा अग्रणी भूमिका निर्वाह गर्नका लागि मार्गनिर्देश गर्ने आफूले  विश्वास लिएको मन्त्री भुसालको भनाइ छ ।  नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण रहेको मन्त्री भुसालको भनाइ छ ।     किफायति, विश्वसनीय, भरपर्दो र हरित ऊर्जामा सबै जनताको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न जलविद्युत् आयोजनाको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याउँदै उहाँले नेपालमा उपलब्ध प्रचूर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पु¥याइ विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो ।    मन्त्री भुसालले भन्नुभयो, “जीवाष्म इन्धनको खपतबाट उत्पन्न पर्यावरणीय असर, जलवायु परिवर्तनलगायतका समस्याले मानव समुदाय र पृथ्वीकै अस्तित्वमा खतरा पैदा भइरहेकाले विश्व मानव समुदायको रक्षा गर्दै भावि सन्ततिलाई सुरक्षित भविष्य दिनका लागि दिगो विकास र ऊर्जाका रुपमा नवीकरणीय ऊर्जाको प्रयोग आजको अपरीहार्य आवश्यकता हो ।”   जलविद्युतको विकास गरी हामीले प्रयोग गर्ने सबै ऊर्जाका स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको मन्त्री भुसालको भनाइ छ । त्यसका लागि मन्त्रालयले आवश्यक तयारीसमेत गरेको जानकारी दिँदै उहाँले त्यसका लागि कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताउनुभयो ।    सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सबल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन, औद्योगीकक्षेत्र सहित जलविद्युत् आयोजनाको तीव्रतर विकास हुनु आवश्यक रहको उहाँको भनाइ छ ।    सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजनसम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोनाकालका संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उहाँले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने बताउनुभयो ।    नेपालले विद्युत् उत्पादनमा ठूलो फड्को मारेको छ । यसबाट प्राप्त हुने लाभ अर्थतन्त्रका लागि जुन हिसाबले लाभदायी छ त्यो भन्दा ठूलो रणनीतिक लाभ वातावरणीय क्षेत्रमा हुनेछ । नेपालको बिजुलीले अब नेपालभित्रको कार्बन उत्सर्जन मात्र प्रतिस्थापन गर्ने छैन ।    भारत बङ्गलादेश भुटान श्रीलङ्कासम्म नेपालको स्वच्छ हरित जलविद्युत् पु¥याएर दक्षिण एसियाली क्षेत्रमा नै योगदान गर्ने प्रबल सम्भावना पनि बोकेको छ । बिजुलीको खपत गरेर इलेक्ट्रोलाईसिस पद्धतिमार्पmत पानी खण्डिकरण गरी हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई स्वदेशी खपत तथा विदेश निर्यातको सम्भावना छ ।    नवीकरणीय ऊर्जाबाट उत्पादन गरेको विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इल्ेक्ट्रोलाइसिस)बाट उत्पादित हरित हाइड्रोजनलाई केमिकल फिडस्टकको रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । हरित हाइड्रोजनको उत्पादन लागत ग्रे हाइड्रोजनको तुलनामा धेरै रहेको बताइन्छ । हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी ५/५ अमेरिकी डलर रहेको छ भने ग्रे हाइड्रोजनको उत्पादन लागत दुई डलर रहेको छ । उत्पादन लागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ । हालको अध्ययन अनुसार इलेक्ट्रोलाइजरको लागत सात सयदेखि एक हजार अमेरिकी डलर बराबर रहेको छ ।    कोभिड–१९ का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य आकाशिएको सन्दर्भमा संसारभर नै हाइड्रोजनलाई ऊर्जाको विकल्पका रुपमा प्रयोग गर्ने गरी लगानीसमेत विस्तार भएको छ । 

पोखरा  : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ ।   गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्‍याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो ।    राष्ट्रिय खेलकुदको गरिमा र महत्वलाई दृष्टिगत गर्दै परिषद्ले पहिलो पटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो । ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी हुनुहुन्छ ।   उहाँहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियोगिताआयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रमा खेलकुदको विशिष्ट महत्व रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।   तालबाराही मन्दिर परिक्रमा गराएर ट्रफी सुरक्षा निकायको जिम्मामा   पोखरा ल्याइएको ट्रफी पोखराका विभिन्न स्थानका साथै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य फेवातालस्थित तालबाराही मन्दिरको परिक्रमा गराएर सुरक्षा निकायको जिम्मा लगाइएको छ । पोखराको तालबाराहीमा ट्रफीसहित ट्रफी टुरमा सहभागी राष्ट्रिय खेलाडीलाई महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो ।   चार दशकको अन्तरालपछि पोखरामा हुन लागेको नवौँं राष्ट्रिय खेलकुद समग्र पोखरेलीका लागि गर्वको विषय भएको महानगरप्रमुख आचार्यले बताउनुभयो । यस राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि महानगरका तर्फबाट सक्दो सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो । नवौं राष्ट्रिय खेलकुदका अवसर पारेर भोलि मङगलबार वृहत् फेवाताल सरसफाइ अभियान सञ्चालन गर्न लागिएकोे पनि महानगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।   विसं २०३८देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत विभिन्न ३६  खेल हुने भएका छन् ।    यही असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक खेल हुनेछैनन् ।   खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । पुरुष बाँस्केटबल पोखरामा र महिला बाँस्केटबल तनहुँमा हुने भएको छ । आर्चरी र फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।  पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।   यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।    यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी ‘नेशनल स्पोर्टस् काउन्सिल एप्स’ सञ्चालनमा ल्याएको छ । सो एप्सबाट खेलको तयारी, नतिजालगायत सबै विवरण जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट  असोज २३ गतेदेखि पोखरामा सुरु भइसकेको छ । 

काठमाडौं :  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ ।    आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।    स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उहाँमा डेङ्गु पुष्टि भई उपचार भइरहेकामा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो ।   भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उहाँ अस्पतालमै बसेर उपचार गराइरहनुभएको थियो । १०औँ दिनमा उहाँले कम खाना खान थाल्नुभएको थियो । जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

वालिङ :  गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ ।   स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिनुभयो ।   गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।   “सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्‍याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्‍यौ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।” खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।   गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।   कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए ।   काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।   उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो ।  इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।

काठमाडौं  :  नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।    बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लगिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।    १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

कास्की ।   आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कास्कीमा सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।   कास्की क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले मनोनयन दर्ता गराए ।    यसैगरि नेकपा एमालेबाट कास्की अध्यक्ष मन बहादुर गुरुङले मनोनयन दर्ता गरे । कास्की क्षेत्र नम्बर २ मा एमालेबाट विद्या भट्टराईले नाम दर्ता गराइन् भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयत दर्ता गरे ।   कास्की क्षेत्र नम्बर ३ का लागि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महादेव गुरुङले र नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले मनोनयन दर्ता गराए ।   प्रदेशसभा तर्फ भने केही उम्मेददवार दोहोरिने दाउमा छन् ।    कास्की क्षेत्र नम्बर १ ‘क’ बाट गठबन्धनको तर्फबाट नेकपा माओवादीका दीपक कोइराला (रुपक) ले उम्मेदवारी दर्ता गरेका छन् । भने नेकपा एमालेबाट ‘क’ मापूर्व गृहमन्त्रीसमेत रहेका खगराज अधिकारीले मनोनयन दर्ता गरे ।   कास्की क्षेत्र नम्बर १ ‘ख ’ मा नेपाली कांग्रेसका दीपक गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट ‘ख ’ मा बेद बहादुर गुरुङ श्यामले मनोनय दर्ता गराए ।    यसैगरि कास्की क्षेत्र नम्बर २ ‘ख ’ मा एमालेबाट भीम कार्की र  ‘ख’ मा मीना गुरुङले मनोनयद दर्ता गराइन् भने गठबन्धनको तर्फबाट २ ‘ख ’ मा माओवादीका विश्व प्रकाश लामिछाने र  ‘ख’ मा कांग्रेसका विन्दु कुमार थापा र उम्मेदवार बनेका छन् । यस्तै कास्की क्षेत्र नम्बर ३ ‘क’ मा माओवादीका दुर्गा दत्त भण्डारी र ‘ख’ मा कांग्रेसका प्रकाश बरालले मनोनयन दर्ता गराए भने एमालेको तर्फबाट  ‘क’ मा गणेशमान गुरुङ र ‘ख’ मा राजीव पहारीले उम्मेदवारी दिएका छन् ।   त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि शिरिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सोही क्षेत्रबाट राप्रपाबाट माधव प्रसाद कंडेलले नेपाल मजदुर किसान पार्टीको तर्फबाट पशुपति प्रजापति,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बाल कुमार राईले मनोनयन दर्ता गराएका छन् ।  

पोखराः हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।   आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो ।   शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।   आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छे, मूल्यमान्यता र परम्परा अनुसार मनाउने गर्दछन् ।   आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।   माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।   मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।   मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।