पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् ।
पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि नेकपा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताउनुभएको छ । ‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’–प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो । जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाउनुभयो । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूर्णता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गर्नुभयो । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसक्नुभएको छ ।
पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाममा लेखाईन् । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् । प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए ।
पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएको खेलमा आर्मी र गण्डकी विजयी भएको छ । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अकं ल्याएका थिए । त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’ तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ । त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो । आज दिउँसो ‘फाइभ अन फाइभ’ अन्तर्गत समुह ‘बि‘ का दुई खेलहरु हुँदै छन ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ । दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए । सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए । महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् । महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । सोही तौल समूहमा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई हराएकी छन् । ५६ केजी समूहमा बागमतीकी शशिकला राईलाई रोकेर सशस्त्र प्रहरीकी विद्या गुरुङ क्वाटर फाइनलमा गएकी छन् । ६० केजी समूहमा नेपाल प्रहरीकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा आफ्रे अघिल्लो चरणमा पुगेका छन् । उनीहरुले क्रमशः बागमतीकी अम्बिका तामाङ र लुम्बिनीकी आयशा शाहीलाई पराजित गरेका हुन् । ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावत प्रमिला विकलाई रोकेर अघिल्लो चरणमा गएकी छन् । मनिषा सशस्त्र र प्रमिला प्रदेश १ का खेलाडी हुन् । सोमबार बिहान सान्सौमा पुरुषतर्फ १६ खेल भएका छन् । ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र नेपाली सेनाका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् । ५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् । पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रष्ेठ विजयी भएका छन् । सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।
पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोश्रो हाफ भने वागमतीको पक्षमा रहेन । खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । त्यसको एक मिनेट पछि अर्थात ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार खेलका क्रममा निधन भएका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको आज अन्त्येष्टी गरिएको छ । निसिमको रामघाटमा आज बिहान १० बजे अन्त्येष्टी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशकले जानकारी दिए । उनलाई श्रद्धाञ्जली दिन राखेपका सदस्यसचिव, गण्डकी प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राखेपका विभिन्न विभागको विभागिय प्रमुख लगायतको उपस्थिती भएका थिए । आइतबार पोखरा महानगरपालिका १८ स्थित सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको थियो । त्यसै क्रममा आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जमिनमा खसेको थियो । प्याराग्लाइडिङ उडाइरहेका निसिम गम्भिर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जन चोकस्थित मेट्रोसिटी अस्पतल ल्याइएको थियो । सोही अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच निसिमको निधनमा श्रद्धाञ्जली प्रकट गर्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आजको सबै खेलअघि एक मिनेटको मौनधारण गरिएको थियो ।
पोखरा । पर्यटकीय नगरी पोखराले सञ्चालन गर्ने हरित यातायात प्रणाली विकास परियोजनालाई कोरियाले सहयोग गर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा महानगर र कोरियाका विज्ञको टोलीबीच यहाँ भएको छलफलमा उक्त सहमति भएको हो । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाइएको छ । कोरियन टोलीले यस क्षेत्रको सार्वजनिक यातायात र रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्यन किमले जानकारी दिनुभयो । “परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गरिने छ”, उहाँले भन्नुभयो,“यस्तै तीन स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।” जसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने टोली प्रमुख किले बताउनुभयो । पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तारसमेत गरिने परियोजनाको लक्ष्य छ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायाता व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरण सन् २०३० सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना प्रविधि पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारी साधनहरुको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने दुई पक्षबीच सहमति भएको छ । टोलीका अनुसार परियोजनाको अन्त्यसम्ममा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने विश्वास लिइएको छ । सम्झौता अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारेमा हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । यात्रुलाई लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत पोखरामा बातावरणमैत्री यातायात प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नुको साथै बसको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने बताउनुभयो । उहाँले कार्वन उत्सर्जन न्यूनीकरणका साथै सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने उहाँको विश्वास छ ।

