काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ । उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ । संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताउनुभयो । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।
दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । यतिमात्र नभई दशैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।
कास्की । दशैँको रौनक गाउँघरमा तातिदै जादा शहरको कोलाहल सुस्ताउदै छ । त्यसो त शहरलाई दशैँ नलाग्ने नै भने होइन । कतिपय शहरीयाहरु यस्ता छन् जसलाई गाउँ कहाँ हो भन्नेसमेत पत्तो छैन । उनीहरु दशैँमा शहरमै बस्न बाध्य छन् । तर गाउँघरबाट भविष्य खोज्दै शहर हानिएकाहरु भने दशैँको कोसेली बोकेर केही दिनका लागि पोखरालाई बाइबाई भनिरहेका छन् । यतिबेला दशैँ नेपालीहरुको संघारमै आइसकेको छ । त्यसैले पोखरा शहरबाट बाहिरिनेको सँख्या बढ्दो छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार हरेक वर्ष पोखराबाट करिब ५० हजारको सँख्यामा नागरिकहरु दशैँ मनाउन बाहिरिन्छन् । तर यस वर्ष भने गाउँ जानेको सँख्या घटेको केसीले बताए । ‘हरेक वर्ष लगभग ५० हजारको सँख्यामा बाहिरिन्छन्, उनले भने, ‘तर यसवर्ष विगतमा जस्तो त्यही चहलपहल छैन । पहिले पहिले त गाडी नै पुग्दैनथ्यो ।’ उनले पोखराबाट सबैभन्दा बढी धादिङका बासिन्दाहरु बाहिरिने गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘दशैँमा सबैभन्दा बढी धादिङका बासिन्दा बाहिरिन्छन् । गाडी चालक र सहचालक मात्रै धादिङका ८० प्रतिशत छन् ।’ उनले भने । दशैँका लागि पोखराबाट गाउँ बाहिरिएका यात्रुहरुलाई सुनगाभा न्यूजको लेन्समा कैद गरेका छौं । हेर्नुहोस् तस्बिरहरु:-
कास्की । मर्दी पदमार्ग चिनाउने माछापुच्छ्रे गाउँपालिका ९ का युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । ‘अहिले प्रहरीको टोलीले शबलाई तल ल्याइसकेको छ, उनले भने, ‘पानीको पाइप जोड्न जादा लडेर ज्यान गएको भनिएको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार हिजो (शुक्रबार) बेलुकीपख गौतम मृत भेटिएका थिए । मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए । उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) मा समेत आवद्ध दिए । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् । केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए । उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा छन् ।
“उति बेला दशैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो । युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।” बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । जब–जब दशैँ तिहार जस्ता पर्व आउँछन् तबतब उहाँलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उहाँका मानसपटलमा अझै ताजै छन् । उहाँ भन्नुहुन्छ, “ दशैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।” युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको बताइन्छ । “ अहिले यो प्रचलन त छँदै छैन, धजा बाँन्दा कोही पनि पिङबाट नलड्ने जनविश्वास पनि थियो”, उहाँले भन्नुभयो । पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गथ्र्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उहाँले भन्नुभयो, “अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा गर्यो , फोनमै भट्यो ।” स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । “बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, उस्तै परे वर्षभरीमा एकपटक पनि धर्ती छोड्दैनन्”, क्षेत्रीले भन्नुभयो, “जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।” उहाँले दशैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ ।” स्थानीय युवा बिमल बुढामगरले पछिल्लो समय आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको बताउनुभयो । बुढामगर भन्नुहुन्छ, “हामी सानोसानो हुँदा लिङ्गे पिङ धेरै खेल्ने गरिन्थ्यो, अहिले त गाउँमा लुठो बाट्ने मान्छे पनि भेटिन छोडे, युवाले पनि खास्सै चासो नदिएर पनि होला हराउँदै गएको छ ।”
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो । प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” उहाँले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो ।
पोखरा । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । उक्त प्रतियोगिता अनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ ।

